आइतबार, जेठ ६, २०८१

नेपालमा रेडियो

सुनिल उलक २०७९ फागुन १ गते १०:०६

केही दशक पहिलेसम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौ भने हराउदै गएको छ । अझ मोवाइलको व्यापकताले गर्दा व्यक्तिको साथमा रहने घडी समेत हराउदै गएको छ । केही रूपमा अचेल व्यापक रूपले ब्यापारिक प्रवेश पाएको एफ.एफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ ।

अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि बि.सं. १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको देखिन्छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा होल्याण्डबाट उत्पादित फिलिप्सको रेडियोहरू बेलायतबाट नेपालमा प्रवेश भएको थियो । त्यसबेला रेडियो हुनु भनेको धनाढ्यताको प्रतिक थियो ।

अझ रेडियो सेट बजाउन घरमा एन्टेना ठड्याउनु पर्ने हुँदा रेडियो लुकाएर सुन्न मिल्दैनथ्यो । तसर्थ, रेडियो सेट राख्न राणा सरकारसंग अनुमति लिनु पर्दथ्यो । अनुमति नलिइ रेडियो सुनेमा जेल सजाय समेत हुने गथ्र्यो । आधिकारिक जानकारीमा मदनमणि दीक्षितका अनुसार बि.सं. १९८६ मा देवमणि दीक्षितले बेलायतबाट मगाएको रेडियो सातौँ थियो । दोश्रो विश्वयुद्ध ताका बेलायतमा रेडियोको कमी भएपछि अमेरिकामा उत्पादित फिलिप्सकै एजष्अिय ब्रान्डका रेडियोहरू भित्रिन थालेको थियो ।

बि.सं. १९९२–९३ मा जुद्धशम्शेरले इलेक्ट्रिक इञ्जिनियर काशिराज पाण्डेलाई बिदेशी रेडियो सुनेर समाचारको संगालो “द न्यूज रिल“ तयार गराइ राणा दरवारमा उपलब्ध गराउन लगाएका थिए । यसरी रेडियोका समाचारलाई अप्रत्यक्ष रूपमा प्रसार गर्न थालिएको थियो । यो नै नेपालमा रेडियोको महत्वको सुरूवात थियो । यसरी जनतालाई रेडियो सुन्ने बनाउने राणा सरकार दोश्रो विश्वयुद्धको समयमा जर्मन बिरूद्धको समाचारले चर्चा पाउदा जनतालाई रेडियो सुन्न बन्देज लगाउन पुग्यो । बि.सं. १९९८ को दशै अगाडी जुद्धशम्शेरले देश (काठमाडौ) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउदा यसको संख्या ४०० वटा थियो ।

कमलमणि दीक्षित “बिर्सेको सम्झेको“
कमलमणि दीक्षितले आफ्नो पुस्तक “बिर्सेको सम्झेको“ मा रेडियो सम्बन्धी आफ्नो अनुभव नै लेखेका छन् । बि.सं. १९९५ मा ठूलो घर अर्थात ठूलो कान्छा बुबाको मा रेडियो सुन्न वहाँ पुल्चोक देखि गैरीधारा हिडेर पुग्नु हुन्थ्यो । विश्व युद्धको समाप्ती पछि सबैले रेडियो फिर्ता पाए । साथमा कमलमणिको बाबाले पनि रेडियो राख्ने अनुमति पाउनुभयो । त्यसपछि घरमै रेडियो सुन्न पाउनुभयो । तर पछि पद्मशम्शेरको समयमा बिजुली अड्डाबाट प्रसारित रेडियो भने उहाँ बनारसमा पढ्न जानुभएकोले सुन्न पाउनु भएन ।

नेपालबाट प्रसारित पहिलो रेडियो कार्यक्रम
जुद्धशम्शेरले जफत गराएका रेडियो सेटलाई बिश्वयुद्धको समाप्ती पछि फिर्ता गरिदिए । यसपछि प्रधानमन्त्री बनेका पद्मशम्शेरले रेडियो राख्न फुकुवा गरिदिए । साथै काठमाडौमा नै रेडियो प्रसारणको सुरूवात पनि गराए । समाचार संकलनको कार्यमा शुरूमा राखिएका काशिराज पाण्डेले बि.सं. २००३ माघ १४ गते देखी दिउसो १ बजेबाट १ः३० सम्म बागबजार बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामबाट रेडियो प्रसारणको आरम्भ गरेका थिए ।

दोश्रो विश्वयुद्धबाट फर्केका सैनिकले बोकेर ल्याएका वायरलेस सेटबाट रेडियो प्रसारण गरेका थिए । ठूला ठूला लाउड स्पिकरबाट रामायणका श्लोकहरू बजाएर रेडियो प्रसारणको आरम्भ गरिएको थियो । पछि यो प्रसारण काठमाडौ उपत्यका बाहिर पनि सुनिएको समाचार छापिएको थियो । यो रेडियो प्रसारणको समय बिस्तारै १०ः०० देखी ३ः०० बजे सम्म बनाइएको थियो ।

पहिलो रेडियो प्रस्तोता
बि.सं. २००३ माघ १४ गते प्रसारण आरम्भ भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डेले प्रसारण आरम्भ गरी नेपालको पहिलो रेडियो उद्घोषक बनेका थिए । उनका साथमा अर्का उद्घोषक त्यतिबेलाका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा थिए । नेपाल ब्रोडकास्टिङबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविता बाचन गरेका थिए ।

पहिलो प्रत्यक्ष प्रसारण
पहिलो पटक राणा प्रधानमन्त्री पद्मशम्शेरको विशालनगर दरवारमा भएको भाषणलाई रेडियोबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ठूला ठूला स्पिकर जोडिएकाले नजिकका सबैले राम्ररी सुन्न पाए साथमा रेडियोबाट पनि प्रसारण जोडिएकोले चारभञ्ज्याङ भित्र सबैले सो भाषण सुन्ने अवसर पाएका थिए । यसरी शुभारम्भ भएको रेडियो प्रसारण पद्मशम्शेरको पतन संगै बि.सं. २००४ को अन्तमा बन्द भयो । मोहनशम्शेरले व्यबस्थित रूपमा रेडियो शुभारम्भ गर्ने उद्देश्यले ट्रान्समिटरहरू झिकाएका थिए तर सो सामग्री बि.सं. २०१३ मा मात्र काठमाडौ आइपुग्यो ।

बि.सं. २००५ को साउन १८ गते मोहनशम्शेरको समयमा पनि मोहन आकाशवाणीबाट केहि सामग्री प्रसारण गरि आकाशवाणीबाट पनि रेडियो प्रसारण गर्न सकिने सफलता हासिल भएको थियो । यसरी नै बि.सं. २००७ मा राणा बिरोधी प्रचारको लागी उपयोग गर्दै बि.सं. २००७ मंसिर २५ देखी माघ १९ गते सम्म भोजपुरमा नारदमुनि थुलुङले ग्रीसबाट लिएर आएको आकाशवाणीका सामग्रीबाट जयन्द्रबहादुर थपलियाले रेडियो उद्घोषण गरि त्यस क्षेत्रमा रेडियोको थालनी गरेका थिए ।

यस कार्यका लागी नारदमुनि थुलुङले टेक्निकल सहयोग गरेका थिए । नारदमुनि थुलुङ जो भारतिय सेनाको गोरखा राइफलमा भर्ति भइ दोश्रो विश्वयुद्धमा ग्रीस पुगेका थिए । युद्धको समाप्ती पछि उनले ग्रीस रेडियोबाट विश्वमा शान्तिको आबश्यकता र अपरिहार्यताका बारेमा बोलेका थिए । उनको यहि अनुभवले नै भोजपुरबाट “स्वतन्त्र नेपाल रेडियो“ उद्घोषणको शुभारम्भ भएको थियो । बिहान साँझ दुइ पटक क्रान्तिकारी समाचार प्रसारण गर्ने गरेकोमा एक दिन अचानक समाचारमा जयन्दबहादुर थपलियाले धनकुटा आक्रमण गर्ने समय र स्थान नै समाचारमा पढिदिए पछि राणा पक्षिय सैनिकले पाख्रीबासमा सात जना भोजपुरे योद्धालाई हत्या गरे । जसको कारणले सो ट्रान्समिटरलाई रातारात बिराटनगर स्थित रघुपती जुट मिलमा लगिएको थियो ।

जहाँबाट तारिणीप्रसाद कोइरालाले नेपाल प्रजातन्त्र रेडियो नामबाट बि.सं. २००७ माघ २० गते दिउसो २ बजे “यो प्रजातन्त्र रेडियो हो, हामी मुक्ति सङ्ग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ“ भन्ने शव्दबाट उद्घोषण थालेका थिए । विराटनगरबाट नियमित प्रसारण हुन थालेपछि काठमाडौमा समेत यसको प्रभाव पर्न थालेको थियो । जसले गर्दा मोहनशम्शेरले बिजुली अड्डाबाट साँझ सात बजेबाट साढे सात सम्म भजन तथा समाचार प्रसारित गरेका थिए । देशमा प्रजातन्त्रको लहर चलेको समय केही समय जुट मिलबाट पनि प्रसारण बन्द भयो । केही समय अन्यत्रबाट प्रसारण भए पनि नियमित हुन सकेन ।

प्रजातन्त्र आएपछि पुन नियमित प्रसारणको थालनी भयो । रेडियो स्टेसन राजधानी ल्याउने सहमती पछि मोहन आकाशवाणी रहेको सिंहदरवारको भवनबाट मोहन आकाशवाणीकै पुरानै ट्रान्समिटरबाट नै ४१ मिटर शर्टवेभमा नेपाल प्रजातन्त्र रेडियो आरम्भ भयो । पछि भारतीय प्रसारण संस्था आकाशवाणी रेडियोको सहयोगले प्रसारण क्षमतामा बृद्धि भयो । २००७ चैत्र २० गते “प्रजातन्त्र नेपाल रेडियो“को नियमित प्रसारण आरम्भ भयो । पहिलो दिन बिहान ८ बजे “यो प्रजातन्त्र नेपाल रेडियो हो“ भन्ने वाक्य सहित रश्मी राज्य लक्ष्मीले कार्यक्रम शुभारम्भ गरे । तारिणीप्रसाद कोइराला रेडियो नेपालको प्रथम कार्यकारी प्रमुख नियुक्त भएका थिए, यसैले बाँकी कार्यक्रम तारिणीप्रसाद कोइरालाले सञ्चालन गरे ।

यसरी शुभारम्भ भएको “प्रजातन्त्र नेपाल रेडियो“ को नाम पछि “नेपाल रेडियो“ हुदै “रेडियो नेपाल“ भयो । जुन नाम हालसम्म नै कायम रहेको छ । पहिलो दिन मात्र एक घण्टा प्रसारण भएको रेडियो प्रसारण समय बढाउदै लैजाने क्रममा अचेल २४ घण्टा नै प्रसारण हुनुको साथै पुरानो पाँच विकास क्षेत्रका सदरमुकामहरुबाट देशैभर प्रसारणको थालनी भइसकेको छ ।

तारिणीप्रसाद कोइराला केवल ९ महिना स्टेसन डाइरेक्टरको रुपमा सेवा गर्नुभएको थियो । बि.सं. २००८ पुसमा वहालाई पदबाट बर्खास्त गरिएको थियो । तर नेपालमा रेडियोको ईतिहास लेखिँदा तारिणीप्रसादलाई बारम्बार उचाईमा पुर्याइन्छ । उनका दाजुहरु नै देशको सर्वोच्च पदमा बारम्बार पुग्दा उनलाई उचाइमा पुर्याउन मद्दत पुगेको देखिन्छ । जबकि वास्तविक योगदान गर्ने काशिराज पाण्डे तथा नारदमुनि थुलुङको चर्चा नै गरिदैन ।

एफएमको प्रवेश
संसारमा पहिलो एफएम सञ्चालन भएको ४५ वर्ष पछि नेपालमा पहिलो पटक बि.सं. २०५२ कार्तिक ३० मा रेडियो नेपालले एफएम सञ्चालन गरेको थियो भने निजी स्तरमा बि.सं. २०५२ चैत्र २० गते रेडियो सगरमाथाले एफएम प्रसारणको परिक्षण गरेको थियो । त्यसको २ वर्ष पछि बि.सं. २०५४ जेठ ९ गते आधिकारिक रूपमा सरकारको अनुमतिमा नेपालको पहिलो एफएम स्टेसनको रूपमा प्रसारणको आरम्भ गर्न थाल्यो ।

एफएमबाट पहिलो पटक सरकारी एकाधिकार तोड्दै घमराज लुइटेलको आवाजमा “नमस्कार एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा तथा बिज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो“ भन्दै प्रसारण आरम्भ गरेका थिए । आज सञ्चार मन्त्रालयबाट अनुमति लिएका एफएमको संख्या ९६२ पुगिसकेको छ । यस मध्य कति सञ्चालित छन् भन्ने यकिन तथ्यांक प्राप्त हुन नसकेपनि यसले आमसञ्चार मा रेडियोको भुमिका प्रशस्त बढेको स्पष्ट देख्न सक्छौ ।

प्रतिक्रिया