बिहीबार, जेठ ३, २०८१

‘भ्यालेनटाइन डे’ मा फुड फेस्टिबल

नेपालखोज २०७९ फागुन १ गते १०:१६

काठमाण्डौं । प्रेम दिवसको अवसरमा सौराहामा आइतबारदेखि फुड फेस्टिबल चलिरहेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलमा विभिन्न जातजातिको वेशभूषासहितको शोभायात्रा गरिएको थियो । प्रेम दिवस मनाउन आउनेहरुको स्वागतका लागि अहिलले सौराहा बिशेषरुपमा सिँगारिएको छ ।

फेस्टिबलका संयोजक ध्रुव गिरीले फुड फेस्टिबल व्यवस्थित गरिएको भन्दै यहाँ आउने पर्यटकका लागि फरक फरक स्वादका खानाको व्यवस्था गरिएको बताए । रेवानका अध्यक्ष नरेश गिरीले मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीले पर्यटन विकासका लागि फेस्टिबल आयोजना गर्दै आएको बताए । उनले भने, ‘फेस्टिबलमार्फत पर्यटक भित्र्याउने उद्देश्यले सुरु भएको फुड फेस्टिबल पछिल्लो समय प्रणय दिवस मनाउने जोडीका लागि अवसर बनेको छ ।’

भ्यालेनटाइन डे मा परिवार तथा प्रेमिकासँग रमाउनेहरुका लागि व्यवसायीले सौराहालाई उत्कृष्ट थलोका रूपमा चिनाएका छन् । सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको आयोजकहरुले बताएका छन । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्ती चोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई बिक्रीका लागि राखेका छन् । संयोजक गिरीका अनुसार फेस्टिबलका हरेक दिन विभिन्न जातजातिको झाँकीको प्रस्तुति रहनेछ ।

भोलि मंगलबारसम्म अर्थात तीन दिन सञ्चालन हुने फुड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुनेछ । नेपालका विभिन्न समुदाय र जातिका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका परिकार उपलब्ध हुने यो फुड फेस्टिबलमा दैनिक पाँच हजार पर्यटकले सहभागिता जनाउने तथा करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया