बुधबार, जेठ २, २०८१

कृषि र पर्यटनको विकासका लागि मेला

नेपालखोज २०७९ फागुन १ गते १०:२०

कास्की । कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेलाको आयोजना गरिदैछ ।

‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिको आयोजनामा हुने मेला फागुन १ देखि ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओमप्रकाश गुरुङले जानकारी दिए । यो मेलाको उद्घाटन समारोहमा आज विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा विशेषतः सोंथर बेँसीलगायत त्यस आसपासमा उत्पादित कृषिजन्य वस्तु तथा पशुचौपायहरूको प्रदर्शनी एवं बिक्री गरिनेछ । मेलामा खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो/ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरूको ठेटार नाच एवं चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।

आजभन्दा साढे तीन दशकअघि निकै प्रख्यात यो मेलाको मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गरेको छ । सोंथर बेँसीमा हाल फार्महाउस एवं केही घरबाससमेत सञ्चालनमा छन् । फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिन्छ । त्यस्तै नजिकै टारी खेतहरूमा गोठहरू पनि रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिनेसमेत व्यवस्था छ ।

प्रतिक्रिया