आइतबार, जेठ ६, २०८१

महोत्सवपछि हलमा ‘हल्कारा’

नेपालखोज २०७९ फागुन १ गते १०:५३

काठमाडौं । अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन् । ‘गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेका छौँ’, निर्देशक सापकोटाले भने, ‘सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने गरिएको छ ।’ यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन् । यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनयसमेत रहेको छ ।

‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए ।

यस्तै, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र अन्य महोत्सवमा समेत छनोट भएको थियो । यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए ।

प्रतिक्रिया