आइतबार, वैशाख २३, २०८१

यू–१९ विश्वकप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

नेपालखोज २०७९ फागुन १२ गते ९:२२

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ । युएईमा आजदेखि सुरु हुने एसिया छनौटमा नेपाल र सिंगापुर खेल्दैछन् । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु हुनेछ ।

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रनेछ । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेमा लक्ष्यमा छ । छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

आजै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुनेछ । नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्नेछ ।

प्रतिक्रिया