शनिबार, जेठ ५, २०८१

गुञ्जिन छोडे ‘बिना सालैजोको ठाडी भाका’

नेपालखोज २०७९ फागुन १७ गते ७:५१

बागलुङ । गएको सोमबार दिउँसो १२ बजेतिर मगर सङ्घ बागलुङको भवनबाट एउटा ठूलो र्याली निस्कियो । त्यो र्याली थियो मगर एकता दिवस मनाउने सहभागीको । र्यालीमा नाच्ने, गाउने र बनाउनेको धेरै टोली थियो । त्यसमध्ये एउटा ठूलो समूहमा पृथक खालको गीत र नाच देखिन्थ्यो । त्यहाँ केही पुरुष मादल बजाउँदै गीत आउँदै थिए । उनीहरुले गाएको गीतलाई महिलाले पनि साथ दिँदै थिए । त्यहाँ गीत गाउने मुख्य व्यक्ति हुनुहुन्थ्यो बागलुङ नगरपालिका–३ का ७३ वर्षीय टीकाबहादुर रोका मगर ।

उनले गीतमा भन्दै भन्दैथियाे …. उनले टोपीरै मेरो, रुमालै मेरो धोइदिने कोही छैन । लाहुरै गएर मै मरि गए रोइदिने कोही छैन ।रोका मगरले गाएको गीतले मगर तथा गुरुङ समुदायको वास्तविकता बोलेको थियो । उनले गाउने हरेक गीतको टुक्कामा मगर संस्कृति र परम्परा झल्किरहेको थियो । धन कमाउन विदेश जाने र विदेशमै ज्यान गुमाउनेको पीडा गीतमा सुनिन्थ्यो । अहिले पनि बागलुङबाट मगर समुदायका सयौँ युवा विभिन्न देशको सेना प्रहरीमा भर्ती भइरहेका छन् ।

स्वदेश छाडेर विदेश पुगेका युवाको दुःख, पीडा र सपनालाई कसैले पनि नसुनेको गीतका टुक्का टुक्कामा सुनिन्थे । गीतमा विदेशिएकाको कथा व्यथासँगै गाउँघर तथा साथीसङ्गीको सम्झना पनि सुनिन्थे । माथिमै पर्यो बागलुङको बजार, तल पर्यो नि रह । कि लाग्छ मलाई सङ्गीसाथीको माया, कि चल्छ विरह ।। रोका मगरको समूहले गाएको गीत ‘बिना सालैजोको ठाडी भाका’ हो । एक जनाले सुरु गर्ने र समूहका महिला पुरुषले भाका समातेर गाउने यो गीत पछिल्लो समय सुनिन छाडेका छन् । यो भाकासँगै यानीमाया, सुनिमाया, झ्याउरे लगायतका दर्जनौँ किसिमका गीत पनि हराउँदै गएका छन् ।

गीत हराउँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । सयौँ वर्ष पुरानो ‘बिना सालैजोको ठाडी भाका’ पछिल्लो एक दशक यता कम भएको पाइन्छ । युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीत हराउँदै गएको टीकाबहादुर रोका मगर बताउछन्। रोका मगरलाई अहिले पनि बुढापाकाले ‘बिना सालैजोको ठाडी भाका’ गाउन लगाउने गर्छन् । अरुलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लगाएका हुन् । रोका मगर भन्छन्, ‘यो भाका हाम्रा पाका पूर्खादेखि गाउँदै आइएको छ, धेरै वर्ष पुरानो यो गीत अरु समुदायका मान्छेले गाउन जान्दैनन्, यो गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको छ, यसको लय पनि अरुभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो, युवा पुस्ताले र्याप केके हो के गाउँछन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पिर लाग्छ ।’

गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन मानिन्छ । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम ‘बिना सालैजोको ठाडी भाका’ नै थियो । आधुनिक सञ्चार माध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यो गीत हराउन थालेको स्थानीय ६० वर्षीय तिलबहादुर दगामी मगरले बताए। उनका अनुसार तरुनी तन्नेरी भेट हुँदा तथा नयाँ साथीभाइसँग भेट हुँदा यो गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गर्ने गर्दथे । अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको बताउछन् ।

‘ठाडी भाकामा तीन दिन तीन रात गाउने गीत हो, धेरैले यो गीत गाउन सक्दैनन्, स्वर लामो गरी तान्न सक्नुपर्छ, हाम्रो बैसमा तरुनी तन्नेरी भएर गाउँदा निकै रमाइलो हुन्थ्यो, तर अहिले यो गीत हराउँदै गयो’, उनले भने । स्थानीय तनीकुमारी थापाले यो भाका लामो समयपछि मगर दिवसमा गुञ्जाउन पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘झण्डै चार/पाँच वर्षपछि बिना सालैजोको ठाडी भाका सुने, पहिले–पहिले हामी पनि गीत गाउँथ्यौँ, तर अहिले यो कतै पनि सुनिदैन, बारीमा कोदो गोड्दा, वनपाखा जाँदा र मेला महोत्सवमै गाइन्थो, अहिले त अरु गीत मात्रै गाउँछन्’,

थापा मगरले पहिले–पहिले रोधी बस्दा ठाडी गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउछन् । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उनको भनाइ छ । यो गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको उनी बताउछन् । रोधी बस्ने चलन हराएपछि पुराना गीत सङ्गीत हराउँदै गएको निसीखोलाका ७९ वर्षीय नरबहादुर पुन मगरले बताए ।

उनी भन्छन्, ‘रोधी बस्दा पुराना गीतको संरक्षण हुन्थ्यो, नयाँ र पुराना गीत गाएरै उज्यालो बनाउने चलन थियो, २०औँ वर्ष भइसक्यो रोधी बस्ने चलन हराएको, यो चलन हराएपछि पुराना गीत हराउँदै गए, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो ।’

प्रतिक्रिया