शुक्रबार, जेठ ४, २०८१

५९ वर्ष अगाडीको बालविवाहकी दुलही भेट्दा

सुनिल उलक २०७९ फागुन १८ गते ८:३०

५ वर्ष अगाडि धुलिखेलमा पुरानो फोटो प्रदर्शनी गर्न पुगेको थिएँ । धुलिखेलका पुराना फोटोहरुमा एक फोटो २०२० सालतिरको बालविवाहको पनि थियो । ५९ वर्ष अगाडी धुलिखेलमा भएको बालविवाहको तस्बिर पिस कोर भोलेन्टियर जेरी यङ्गले खिच्नु भएको थियो । विवाहको क्षण शायद वहाँहरूले बिर्सी पनि सकेका थिए ।

धुलिखेलमा गरिएको फोटो प्रदर्शनीमा यो फोटोलाई पनि राख्नु उचित लाग्यो । उद्घाटनको समय एक जना आमाले यो बिहे मेरो भदिनी को हो भने पछि म दुलही शकुन्तलालाई खोज्न गए । नजिकै घर रहेछ, एक जनाले चस्मा लगाउनु हुने नै हो भने पछि म नजिकै गएर सुनाएँ, “तपाईँको बिहेको फोटो मसँग छ नि । बच्चामै बिहे गर्नु भएको रहेछ ।”

उहाँ निकै आश्चर्यित हुनु भयो । र मैले भन्दै गए, “२०१९ – २० सालतिर तपाइको बिहे भएको रहेछ । तपाईँको श्रीमान् असल काजी सञ्जीवनीमा ६ कक्षा पढ्नु हुँदो रहेछ त्यति बेला तपाई चाही भर्ना पनि नहुनु भएको रहेछ ।” एकै छिन मेरो अनुहार हेरिरहनु भयो र भन्नुभयो, “कसरी थाहा पाउनु भयो ? तपाइ मेरो बिहेमा आउनु भएको थियो ?” मैले वहाँलाई सविस्तार भने एउटा विदेशीले तपाईँको बिहे हुँदा बच्चा मै बिहे भएको देखेर अनौठो मानेर फोटो खिचेर लग्नु भएको रहेछ ।

आज त्यो फोटो तपाईँहरूलाई देखाउन मैले धुलिखेल लिएर आएको छु । वहाँको श्रीमान् आफन्तको मृत्यु भएको दश दिनको काममा जानु भएको रहेछ । मसँग पर्खने समय पनि थिएन । अन्तमा एउटा तपाईँसँग फोटो खिच्न चाहन्छु भने । वहाँले भन्नुभयो, “हुन्न हुन्न मैले बिहे गर्दा त श्रीमान् सँग नजिक बसेर फोटो खिचिन, तपाईँसँग कहाँ खिच्न मिल्छ ?” ।

तर के गर्नु भाइ प्रशान्त श्रेष्ठले खिची हालेछ । साँच्चै यो फोटोमा वास्तविक क्लिक परे जस्तो लाग्यो । अङ्ग्रेजीमा भनिन्छ, Best Shot .

प्रतिक्रिया