शनिबार, जेठ ५, २०८१

संगीतसम्बद्ध ६ संस्थाबाट न्याय निरुपणको अनुरोध

नेपालखोज २०७९ फागुन १८ गते १२:२८

काठमाडौं । सांगीतिक क्षेत्रमा सक्रिय आधा दर्जन संघ–संस्थाहरुले बुधवार एउटा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सांगीतिक क्षेत्रमा व्याप्त विकृती, विसंगति, अपमानजनक, बेइज्जतीपूर्ण तथा समाजमा अफवाह फैलाउने शैलीका फोहोर शब्दहरु लेखी निन्दनीय कार्य गरेकोप्रति सिंगो सांगीतिक क्षेत्र नै दुःखी भएको जनाएका छन् ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर तथा प्रस्तोता समाज नेपालका महासचिव भिषण मुकारुङद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त विज्ञप्तीमार्फत उनीहरुले पछिल्लो समय देखिएको विकृतिप्रति खेद प्रकट गरेका हुन् ।

‘पछिल्लो समय हाम्रा संस्थागत र सामूहिक अपीलहरुलाई वेवास्ता गर्दै स्रष्टा र सर्जकहरुको सिर्जना तथा कृतिहरुको आडमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका विन्ध्यवासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीले आफ्नो सामाजिक सञ्जाल, फेसुबकको गलत तबरले दुरुपयोग गर्दै देशका चर्चित तथा अग्रज गीतकार, संगीतकार, गायक, गायिका, वाद्यवादक, पत्रकार, नेता तथा सामाजिक अभियन्तासमेतलाई लक्षित गरी पढ्नै र सुन्न नसकिने अपमानजनक बेइजीपूर्ण र समाजमा अफवाह फैलाउने फोहोर शब्दहरु लेखी अत्यन्त निन्दनीय कार्य गरेको प्रति हामी सिंगो सांगीतिक क्षेत्र नै दुखित भएका छौं र निजको सो कार्यप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा यही विषयलाई लिएर गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दरखास्तप्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधिमूलक संघ–संस्थाहरुको तर्फबाट सुवास रेग्मीप्रति घोर भत्सर्ना गरिएको छ ।

‘आम जनसमुदायको भावनासहित उक्त जाहेरी उपर भएको अनुसन्धानमा समर्थन जनाउँदै उक्त कार्यप्रति साथ र सहयोग रहेको प्रतिवद्धतासहित भविष्यमा यस्ता प्रवृत्तिहरु सदाका लागि निर्मूल होस् भन्ने कामनाका साथ सम्बन्धित निकायलाई यस घटनाप्रति गम्भीतरतापूर्वक ध्यानाकर्षण गराउँदै न्याय निरुपणका लागि विनम्र अनुरोध गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया