शनिबार, जेठ ५, २०८१

नाफाद्वारा ललितकलाको विकासका लागि सुझाव सङ्कलन

नेपालखोज २०७९ फागुन १८ गते २०:२५

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रको विकास तथा समन्वयका लागि विभिन्न क्षेत्रका व्यक्तिसँग सुझाव सङ्कलन थालेको छ ।

प्रतिष्ठानले आज ललितकला क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार, लेखक तथा यस क्षेत्रका व्यक्तिहरूसँग सुझाव लिएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आपसी सहकार्य गर्न के–कस्ता कुरामा सुधारको खाँचो छ र प्रतिष्ठान कसरी अघि बढ्नुपर्ला भन्ने विषयमा जानकारी लिन सुझाव सङ्कलन गरिएको बताए । उनले प्राप्त सुझावका आधारमा प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने विश्वास दिए ।

सो क्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले प्रतिष्ठानले सूचना डेस्क नै स्थापना गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले कला लेखन र ललितकलाको इतिहासलाई दस्तावेजीकरण गर्न जरुरी रहेको औँल्याए । उनले नेपाली मौलिकताको खोज र अनुसन्धानमा प्रतिष्ठानले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरूले मिडियासँगको समन्वय बढाउँदै कलासँग अर्थ र पर्यटनको सम्बन्धका बारेमा बहस चलाउनुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले कलाको महत्त्व,विकास र प्रवर्द्धनमा अभियानात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले आएका सुझाव महत्त्वपूर्ण रहेको र सम्भव भएसम्म कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाए ।

उनले ललितकलाको विकासका लागि एक्लै अघि बढ्न नसकिने भएकाले पत्रकारसँग सहकार्य गर्ने बताए । प्रतिष्ठानले यसैगरी अन्य विधाका व्यक्तिहरूसँग समेत छलफल अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया