निर्देशन कार्यान्वयन नगरेको भन्दै रजिष्ट्रार दाहालविरुद्ध उजुरी

नेपालखोज २०७९ फागुन १९ गते १२:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी परेको छ ।

आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै त्रिविका आंगिक क्याम्पस धनकुटाको परीक्षा शाखामा कार्यरत भण्डारीले बुधबार उजुरी दिएकी हुन् ।

कर्मचारी भण्डारीले गएको माघ ५ गते बेथिती, अनियमितता रोक्न र सुधार गर्न आयोगले दिएको निर्देशन कार्यान्वयनमा बेवास्ता गरेको भन्दै जरिवाना कारबाहीका लागि उजुरी दिएकी हुन् । कर्तव्य पूरा नगरेको आरोपमा रजिष्ट्रारले भण्डारीलाइ निलम्वन गरेको थियो ।

तर आयोगले भण्डारीले क्याम्पसमा बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको जनउँदै त्रिवि रजिष्ट्रारलाई भण्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन डेढ महिना अघिनै दिएको निर्देशन कार्यान्वयनमा रजिष्ट्रारले बेवास्ता गर्दै आएका थिए ।

भण्डारीले २०७७ फागुन १० गते क्याम्पसमा परीक्षार्थीको उत्तरपुस्तिका सट्टापट्टा भइरहेको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादाविपरीत काम गरेको भन्दै २०७७ चैत ४ गते त्रिवि कार्यकारी परिषदले भण्डारीलाई नै निलम्बन गरेको निर्णयसहित रजिष्ट्रार दाहालले पत्र काटेका थिए ।

भण्डारीले आफूले क्याम्पसमा बेथिती र लापरवाही रोक्न खोज्दा उल्टै त्रिविले पूर्वाग्रही बनेर निलम्बन गरेर त्रिविले गलत निर्णय गरेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया