शनिबार, वैशाख ८, २०८१

नेपालसहित ५५ देशमा स्वास्थ्यकर्मीको ठूलो अभाव : डब्लूएचओ

नेपालखोज २०७९ चैत ३ गते १२:५५

विश्वव्यापी रूपम प्रति १०,००० जनसंख्यामा ४९ जना स्वास्थ्यकर्मी (डाक्टर, नर्स र मिडवाइफहरू) छन्। रिपोर्ट अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै धेरै विकसित देशहरूले स्वास्थ्यकर्मी भर्ती गर्ने प्रकृयालाई तीब्र बनाएका छन्। फलस्वरूप स्वास्थ्यकर्मीको अभावमा पहिलेदेखि नै सङ्घर्षरत रहेका देशहरूमा रहेका स्वास्थ्यकर्मीहरू पनि राम्रो आम्दानीको फाइदा लिन ती विकसित देसहरूतिर पलायन भैरहेका छन् ।

यस सन्दर्भमा, विश्व स्वास्थ्य संगठनले 14 मार्च २०२३ मा ‘डब्लूएचओ हेल्थ वर्कफोर्स सपोर्ट एण्ड सेफगार्ड्स लिस्ट – २०२३’जारी गरेको छ, जसमा २०३० सम्ममा स्वास्थ्य लक्ष्यहरू हासिल गर्न आवश्यक स्वास्थ्यकर्मीहरूको तीव्र अभाव भएका देशहरू पहिचान गरिएको छ। यो अभावबाट सबैभन्दा बढी अफ्रिकी देश प्रभावित भएको प्रतिवेदनले देखाएको छ । भर्खरै जारी गरिएको सूचीमा अंगोला, क्यामरुन, चाड, बुर्किना फासो, नाइजेरिया, कंगो, रुवाण्डालगायत ३७ अफ्रिकी देशहरू पनि समावेश छन्। यस्तो अवस्थामा यी देशहरूले २०३० सम्ममा विश्वव्यापी स्वास्थ्य कभरेजको लक्ष्य कसरी हासिल गर्ने भन्ने आफैमा ठूलो प्रश्न हो । यस सम्बन्धमा, डब्लुएचओका स्वास्थ्य कार्यकर्ता नीति निर्देशक डा. जिम क्याम्पबेल भन्छन्, ‘अफ्रिका भित्र बलियो अर्थतन्त्र छ, जसले नयाँ अवसरहरू सिर्जना गरिरहेको छ।’ उनका अनुसार खाडी मुलुकहरू परम्परागत रूपमा विदेशी कामदारमा निर्भर रहँदै आएका छन् ।

यसैबीच, केही उच्च आय भएका देशहरूले कोरोना संक्रमण र महामारीसँग लड्न भर्ती र रोजगारीका अवसरहरू बढाएका छन्, जसले गर्दा महामारीको समयमा कर्मचारी अभाव जस्ता अवस्थाको सामना गर्न सकिन्छ। अर्कातर्फ यस्तो भर्नाका कारण पहिले नै स्वास्थ्यकर्मीको अभावमा संघर्ष गरिरहेका देशको समस्या झन् – झन् गम्भीर बन्दै गएको छ । यो कुरालाई ध्यानमा राख्दै स्वास्थ्य संगठनले प्रशिक्षित स्वास्थ्यकर्मीको चरम अभाव भएका देशहरूलाई अधोरेखित गर्न यो नयाँ सूची जारी गरेको हो ।

विश्वभर उपलब्ध स्वास्थ्यकर्मीसँग सम्बन्धित तथ्याङ्क हेर्दा सन् २०२० मा विश्वभर २९ करोड नर्स, १२.७ मिलियन डाक्टर, ३७ लाख फार्मासिस्ट, २५ लाख दन्त चिकित्सक, २२ लाख मिडवाइफ र १४ लाख ९० हजार अन्य स्वास्थ्यकर्मी छन् । यसरी विश्वभर ६.५ करोडभन्दा बढी स्वास्थ्यकर्मी छन्। यो संख्या ठूलो देखिन्छ तर यसको वितरण भने निकै असमान छ। उच्च र न्यून आय भएका मुलुकमा उनीहरूको घनत्वमा साढे ६ गुणाको अन्तर रहेको पाइएको छ ।

अनुमान अनुसार २०३० मा स्वास्थ्यकर्मीहरूको यो संख्या ८४ मिलियन हुनेछ। २०२० मा १.५ करोड स्वास्थ्यकर्मीको अभाव थियो । जसको संख्या ३३ प्रतिशतले घटेर सन् २०३० मा एक करोडमा झर्ने विश्वास गरिएको छ । यद्यपि, यसका बाबजुद अफ्रिकी मुलुकहरुमा यो गिरावट विश्वव्यापी औसतभन्दा कम हुने अपेक्षा गरिएको छ। अफ्रिकामा स्वास्थ्यकर्मीको अभाव ७ प्रतिशतले सुधार हुने प्रक्षेपण गरिएको छ, जबकि विश्वव्यापी रूपमा अभाव ३३ प्रतिशतले घट्न सक्छ।

‘स्टेट अफ वर्ल्ड नर्सिङ – २०२२’ मा जारी गरिएको तथ्यांकलाई हेर्दा विश्वका करिब ८१ प्रतिशत नर्सहरू तीन क्षेत्र (अमेरिका, युरोप र पश्चिमी प्रशान्त) मा काम गर्छन्, जहाँ विश्वको जनसंख्याको ५१ प्रतिशत मात्र बसोबास गर्छन् । यो असमानताको खाडल कति गहिरो छ भन्ने कुरा विश्वका नर्समध्ये तीन प्रतिशत मात्र अफ्रिकामा रहेको तथ्यबाट अनुमान गर्न सकिन्छ । जहाँ तिनीहरूको संख्या प्रति दस हजार जनसंख्यामा नौ भन्दा कम छ। अमेरिकामा यो संख्या ८३.४ छ भने युरोपमा ७९.३ छ । विश्वका करिब ३० प्रतिशत नर्सहरू अमेरिकी देशहरूमा छन्।

यस सन्दर्भमा विश्व स्वास्थ्य संगठनले यी देशहरूलाई स्वास्थ्य प्रणाली र उनीहरूको स्वास्थ्य कार्यबलको विकासका लागि सहयोग आवश्यक रहेकोमा जोड दिएको छ। यससँगै संस्थाले सक्रिय अन्तर्राष्ट्रिय भर्नालाई सीमित गर्न थप सुरक्षाको आवश्यकतामा पनि जोड दिएको छ । यस सन्दर्भमा, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा . टेड्रोस अधानोम गेब्रेयससले पनि सबै देशहरूलाई डब्लूएचओले जारी गरेको यो सूचीको प्रावधानको सम्मान गर्न आह्वान गरेका छन्।

डा. टेड्रोस भन्छन्, ‘स्वास्थ्यकर्मीहरू हरेक स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन् र विश्वका केही कमजोर स्वास्थ्य प्रणाली भएका ५५ वटा देशमा पर्याप्त स्वास्थ्यकर्मी छैनन्। भएका स्वास्थ्यकर्मीहरु देश छोडेर अन्य देशहरूमा पलायन हुँदैछन् ।’

प्रतिक्रिया