बुधबार, वैशाख १२, २०८१

छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी

नेपालखोज २०७९ चैत ३ गते १९:५८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जित्न सफल भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुको साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरे । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गरे ।

उनले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना विकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए । सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्दे महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर लागि रहने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहालले खेलका उप–बिजेता टिम तथा खेलाडी र अफिसियलहरुलाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको फाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई १–० गोलको अन्तरले पराजित गरी उपाधी जितेकोे हो ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही फागुन २८ गतेदेखि प्रधान कार्यालयको रंगशालामा संचालन भएको थियो ।

प्रतिक्रिया