शुक्रबार, चैत १६, २०८०

राजा त्रिभुवनको शव र काट्टो खाने चलन

सुनिल उलक २०७९ चैत ४ गते ९:१९

काठमाडाैं । ६८ वर्ष अगाडि आजकै दिन २०११ सालको चैत्र ४ गते दिउसोको १२ बजेर २५ मिनेट भएको थियो । गौचरमा भारतीय वायु सेवाको जहाज आइपुग्यो । चारैतिर रुवावासी र कोलाहलको आवाज सुनिन थाल्यो । जहाजको इञ्जिनको आवाज बन्द पनि भइसकेको थिएन । सेनाको ४० टोपको सलामीको पहिलो टोप पड्कियो । जहाजको ठूलो ढोका खुल्ना साथ चाँदीको ठूलो पालकीमा राजाको शव बाहिर निकालियो । यो पालकी त्यही थियो, जसमा यिनै राजा बाल्यकालमा राजा हुँदा तथा शुभराज्याभिषेकमा बसेका थिए ।

मानिसहरुको रुवाइ टाढा टाढासम्म सुनिन्थ्यो । महिलाहरु पनि हाय जुजु गर्दै रोइरहेका थिए । गौचरदेखी पशुपतिसम्म हजारौ महिला पुरुष लामबद्ध आफ्नो प्रिय राजाको अन्तिम पटक दर्शन गर्न लालायित थिए । यो दुखद घडीमा उपत्यकाका बिसौ हजार जनता यहाँ आइपुगेका थिए । राजालाई विष्णुको अवतार मान्ने देशमा आफ्नो जीवनको बाजी थापेर देशमा राणाहरु एकतन्त्रिय शासन समाप्त पार्न सफल हुनुभएको हुँदा पनि यि राजा अझ बढि प्यारो भएका थिए ।

सबै नेपाली शोकमा डुबेका थिए । कतिपयले आफ्नो कपाल मुण्डन गरेका थिए । आफ्नो अविभावकको मृत्युको शोकमा सबैको आँखामा आँसु थियो । छालाको जुत्ता कसैले पनि लगाएनन् । कतिपयले सेतो वस्त्र नै लगाएर बसे । तेह्र दिनसम्म नुन बारे । राजा प्रति सबैको गहन आस्था यहि समय देखिएको थियो । यता युवराज महेन्द्र कालो चश्मामा चुपचाप देखिन्थे । उनको आँखामा आँसु कसैले पनि देखेनन् । केही समयमा नै उनलाई नयाँ राजा बनाइयो । उनि पारिवारिक कर्तव्य भन्दा पनि देशको कर्तव्यको लागी शोकमा डुब्न सक्दैनथे ।

शव पशुपतिनाथ मन्दिरको बागमतीको घाटमा पुर्याइयो । बागमती किनारको सबै सिँढी फूलका मालाले ढाकिएका थिए । बिस्तारै शवलाई बागमती किनारमा राखिएको साँपको आकृती कुँढिएको ढुङ्गामा सुताइयो । खुट्टालाई बागमतीमा छुवाइयो, ताकी मृत आत्मा स्वर्ग पुगोस । यसपछि ब्राम्हणले नाभी निरको सानो टुक्रा मासु काटेर निकाल्यो । यहि तौल बरावरको सुनको सिक्का तौलिएर मासुको टुक्रालाई बागमतीको बिचमा रहेको सानो ढिस्कोमा गाडियो । त्यसमाथी दियो बालियो यसर्थ कि मृत आत्माले हेर्न सकुन ।

त्यसपछि निधारको हड्डीको सानो दुइ टुक्रा निकालियो । एक टुक्रालाई सुनको भाँडामा राखियो । यो हड्डीको टुक्रा बोकेर ब्राम्हण त्यहाँबाट रिडी जान हिड्यो । ८ दिनको पैदल यात्रा हिडेर गण्डकी नदिको बिचमा यो हड्डीलाई गाड्नु पर्नेछ । अर्को टुक्रा अर्को सुनको भाडामा राखियो र यसलाई अलग्गै राखियो । यसपछि यता ब्राम्हणबाट शव जलाउने कर्मकाण्ड गर्न थाल्यो ।

मुख्य ब्राम्हणको रुपमा काशीबाट ल्याइएका श्रीकृष्ण भट्ट नै प्रमुख ब्राम्हणको रुपमा थियो । बिगत एघार दिन देखी उनको बिशेष सत्कार दरवारमा गरिएको थियो । राजाको पलङमा सुत्ने राजाको कपडा लगाउने राजालाई मनपर्ने खाना भान्सामा बिशेष रुपले पाक्थ्यो । यो सबै श्रीकृष्ण ब्राम्हणको अहोभाग्य झै लाग्थ्यो । तर कमैलाई थाहा हुन्थ्यो । उनको भोजनमा स्वर्गारोहण भएका राजाको जल्दै गरेको शवको निधारबाट निकालिएको सानो हड्डीको टुक्रालाई पिसेर उनको खानामा मिसाइन्थ्यो ।

यो कर्म राजाको स्वर्गारोहण पछि किन गर्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख गरेको भेटिदैन । तर काट्टो खाने नाममा राजाको शवबाट निकालिएको हड्डीको थोरै धुलोलाई खानामा मिसाएर खुलाउने गर्दा मृत आत्माले दरवारमा दुख दिदैन भन्ने बिश्वास थियो। यसरी मृत राजाले झै दरवारमा रहदा मृतात्मा ब्राम्हणमा सर्ने र पुण्य प्राप्त हुने मान्यता थियो ।

तेह्र दिन बितेपछि काट्टो खाने ब्राम्हणलाई यथासक्य खुशी बनाएर २०००० नगद तथा २ लाखको जिन्सी, दुइवटा हात्ती र एक सजाइएको घोडा उपहार दिएर बिदा गरियो । अन्तिम दिन ब्राम्हण राजाको पोशाक लगाएर हात्तीमा चढेर थानकोट कटाइएको थियो । यसरी राजाको काट्टो खाने ब्राम्हणलाई राज्यबाट र जातबाट निकालिने गरिन्थ्यो । यस्ता ब्राम्हणले पछि कर्मकाण्ड गर्न पाउदैनथे । हात्तीमा चढेर थानकोट जाने क्रममा बाटो भरि केटाकेटीहरु गिज्याउथे । काट्टो खाने ब्राम्हण भनेर गिज्याएका थिए । साथै नेवा: बच्चाहरु ढुङ्गाले हान्ने पनि गर्दथे । बिदेशी पत्रकारहरु पनि यो अनौठो प्रक्रिया हेरेर बसेका थिए ।

राजाको काट्टो खाने प्रचलन कहिलेबाट भयो भन्ने कुनै जानकारी नभए पनि पृथ्वीनारायण शाहको काट्टो भने खनाल थरका नेपाली ब्राम्हणले खाएका थिए भन्ने लिखौट भेटिएको छ । तर पछि कुन समय देखी काशीका भट्टलाई ल्याइयो कुनै उल्लेख भेटिदैन । तर राजा त्रिभुवनको काट्टो भने काशीबाट ल्याइएका श्रीकृष्ण भट्टलाई खुलाइयो । त्यसपछि राजा महेन्द्रको समयमा पनि काट्टो खाने ब्राम्हण काशीबाट नै ल्याइयो । राजा महेन्द्रको काट्टो श्री गणेश भट्टलाई खुवाइएको थियो । तर राजा वीरेन्द्रको समयमा भने काठमाडौ गौशाला बस्ने दुर्गाप्रसाद सापकोटालाई र दिपेन्द्रको समय देवीप्रसाद आचार्यलाई काट्टो खुवाइयो । तर अब ब्राम्हणले कहिल्यै राजाको काट्टो खानुपर्ने छैन ।

प्रतिक्रिया