शुक्रबार, वैशाख ७, २०८१

छोरासँग विद्यालय जाँदै नेपाली आमा (फाेटाे फिचर)

नेपालखोज २०७९ चैत ५ गते १४:३२

काठमाडाैं । नेपालमा ५७ प्रतिशत महिला मात्र पढ्न र लेख्न सक्छन् । पार्वती सुनार तीनै मध्ये एक महिला हुन्, जसले १६ वर्षको उमेरमा आमा बने पछि विद्यालय छोड्नु परेको थियो । अहिले उनी छोरासँगै स्कुल जान थालेकि छिन् ।

२७ वर्षीया पार्वती सुनार छोरा रेशम (११) बर्ष, अर्जुन (७)बर्ष तथा सासूसँग दुई कोठाको कच्चा घरमा बस्छिन् । उनका श्रीमान् दक्षिण भारतको चेन्नई सहरमा मजदुरी गर्छन् । पढाइ- लेखाईको हिसाबले यो घरमा कुनै सुविधा छैन् तर पनि कतै न कतै आशाको दियो बलिरहेको छ ।

सुनारको घरमा न चर्पी छ न त पानीको ट्याप, त्यसैले परिवारका सबै सदस्य बिहान सबेरै उठेर घर अगाडिको पानीको हेन्ड पम्पमा नुहाउँछन् । छेउछाउको खेतले उनीहरूको शौचालयको आवश्यकता पूरा गर्दछ। तयार भएर दाल- भात खाएपछि सुनौला आफ्नो जेठो छोरासँग विद्यालय जान्छिन् । विद्यालय पुग्न करिब २० मिनेट लाग्छ । रेशमलाई आफ्नी आमासँगै विद्यालय जान कुनै समस्या छैन । ‘हामी कुराकानि गर्दै स्कुल पुग्छौँ र यस्तो कुराकानीबाट धेरै कुरा सिकिन्छ’, ११ वर्षीय रेशमले भने ।

पार्वती दक्षिणपश्चिम नेपालको पुनर्वास गाउँमा रहेको विद्यालयको सातौं कक्षामा अध्ययनरत छिन् । १४ वर्षीय विजयले पार्वती कक्षामा हुँदा निकै रमाइलो भएको बताए । विजय भन्छन्, ‘दीदी धेरै असल छिन्। म उनलाई पढाइमा सघाउँछु र उनले पनि मलाई सहयोग गर्छिन्।’ कक्षा १० मा अध्ययनरत श्रुति भन्छिन्, ‘उनले धेरै राम्रो काम गरिरहेकी छिन्, मलाई लाग्छ अरूले पनि उनको बाटो पछ्याउँदै विद्यालय जानुपर्छ ।’

सरकारी तथ्याङ्कअनुसार नेपालका ९४.४ प्रतिशत केटीहरू प्राथमिक विद्यालय जान्छन् तर आधाले विद्यालय छोड्छन् । पाठ्य पुस्तकको अभाव तथा गरिबी यसको प्रमुख कारण हो । पार्वती विद्यालयलाई निरन्तरता दिन चाहन्छिन् ।

स्कूल पछि पार्वती र उनका छोराहरुले आफ्नो लुगा फेर्छन् र साइकल चढेर सँगै न्यू वर्ल्ड भिजन कम्प्युटर इन्स्टिच्युट जान्छन्, कम्प्युटर सिक्न । यो अध्ययनले भविष्यमा उनीहरूलाई जागिर पाउन मद्दत गर्ने आशा छ । सुनार किशोरावस्थामा विद्यालय छुटेकोमा पछुतो मान्छिन् । उनि भारतमा घरेलु कामदारको जागिर छाडेर कम्प्युटर र अन्य कुरा सिक्न अनि पढाइ पूरा गर्ने निर्णयका साथ नेपाल फर्किएकि हुन् । पार्वती भन्छिन्, ‘मलाई सिक्न रमाईलो लाग्छ र मेरा सन्तानको उमेरका विद्यार्थीहरूसँग विद्यालय जान पाउँदा गर्व लाग्छ ।’

पार्वतीका श्रीमान् उनीबाट करिब २००० किलोमिटर टाढा चेन्नईमा मजदुरका रूपमा काम गर्छन् । उनैले परिवारको खर्च बेहोर्दै आएका छन तर उनि परिवारसँग बस्न समय पाउँदैनन् । भिडियो कलले उनीहरूलाई नियमित सम्पर्कमा राखेको छ । यो दलित समुदायको परिवार हो जसलाई परम्परागत जाति व्यवस्थामा अछूत मानिन्छ ।

स्कुलको पढाइ सकेपछि के गर्ने ? भन्ने कुरामा पार्वती अहिले अन्योलग्रस्त छिन । अहिलेका लागि उनी केवल आफ्नो स्कूलको पढाइ पूरा गर्न चाहन्छिन् । पार्वती आफु एक्लैले मात्र नभई ग्रामीण नेपालका अन्य महिलाले पनि आफ्नो उदाहरणबाट पाठ सिक्नेछन् भन्ने आशा राख्छिन् ।

डिडब्ल्यु फिचर

प्रतिक्रिया