बिहीबार, चैत १५, २०८०

नेपाल भारतसँग पराजित

नेपालखोज २०७९ चैत ६ गते १८:१४

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो ।

भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् । खेलको दसौँ मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् ।

खेलको पहिलो हाफको ४१औँ मिनेटमा पूजाले एक गोल थपिन् । त्यसपछि खेलको ५४औँ मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । त्यस्तै खेलको ८०औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाइन् । जितसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार भूटानसँग खेल्नेछ ।

प्रतिक्रिया