शुक्रबार, वैशाख १४, २०८१

घोडेजात्रामा आज बैंकिङ सेवा तथा राहदानी विभाग खुला रहने

नेपालखोज २०७९ चैत ७ गते ७:३७

काठमाडाैं । आज मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

‘घोडेजात्राका दिन मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।

राहदानी विभागले पनि सेवा दिने

राहदानी विभागले आज मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, ‘भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।’

प्रतिक्रिया