शुक्रबार, वैशाख १४, २०८१

ललितपुरमा भाेलिदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान

नेपालखोज २०७९ चैत ८ गते ६:४९

काठमाडाैं । ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए ।

‘स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बुस्टर डोज खोप दिनेछौँ । पहिलो बुस्टर नलगाएकालाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर छ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने अहिलेको अभियान छ’, उनले भने ।

उनका अनुसार यो अभियान जिल्लाका पाँच वटा पालिकामा चैत ९ र १० गते सञ्चालन हुनेछ । महाँकाल गाउँपालिकामा भने चैत १०, ११ र १२ गते सञ्चालन हुनेछ । आज जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तक्र्रियामा हाल नेपालमा कोरोनाविरुद्धको खोप १५ लाख मात्रा रहेको छ भने ललितपुरमा ३१ हजार मात्रा रहेको जानकारी दिइयो ।

पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले जिल्लामा सञ्चालन हुने खोप अभियान प्रभावकारी बनाउनका लागि स्थानीय सञ्चारमाध्यममार्फत समाचारलाई प्रभावकारीरुपमा प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया