बिहीबार, चैत १५, २०८०

सत्कर्म नै सबैभन्दा ठूलो धर्म : सभामुख घिमिरे

नेपालखोज २०७९ चैत ८ गते २१:१३

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् । गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं १ र २ को सीमास्थित पाउ पाथीभरा धाममा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आज एक समारोहबीच उद्घाटन गर्दै उनले पाथीभरा माताको मन्दिर कोशी प्रदेशको सांस्कृतिक पहिचान रहेको बताए ।

ताप्लेजुङमा पाथीभरा माता, इलाममा सानी पाथीभरा माता र झापाको चारआलीमा पाउ पाथीभरा माताको मन्दिर रहेको उल्लेख गर्दै सभामुख घिमिरेले स्थापनाको आठ वर्षमै पाउ पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था र विश्वासले यस क्षेत्रकै विकासमा महत्त्वपूर्ण सघाउ पुगेको बताए । महापुराणको आयोजनाले सत्कर्ममा लाग्न समस्त मानव समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सबै धर्मले मानव कल्याण र शान्तिकै सन्देश बोकेको हुँदा धार्मिक अनुष्ठानमार्फत समाजको उन्नति र जागरणमा योगदान पुग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आम नागरिकमा वितृष्णा र नकारात्मक सोचाइको विकास भइरहेका कारण धार्मिक अनुष्ठानले जीवनप्रतिको आशा र सकारात्मक सोचको विकास गर्नुपर्ने बताए । समाजमा आर्थिक विकास र शान्तिपूर्ण जीवनयापनको वातावरण भए पनि नागरिकमा वितृष्णा बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गरे ।

ताप्लेजुङमा प्रसिद्ध पाथीभरा देवीले भ्रमण गर्दा एउटा पाउ झापाको यहीँ धाममा र अर्को पाउ भारतको आसामको गुवाहाटीस्थित प्रसिद्ध कामाक्षा मन्दिरमा परेको धार्मिक विश्वास रहेको पाउ पाथीभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीले बताए । धामको प्रचारप्रसार गरी धार्मिक पर्यटन अभिवृद्धिको उद्देश्य राखेर हरेक वर्ष एउटा महापुराणको अनुष्ठान आयोजना भइरहेको उनले जानकारी दिए । यसपटक चैत ८ गतेदेखि सुरु भएको श्रीमद्भागवत चैत १६ गते समापन हुने बताइएको छ । रासस

प्रतिक्रिया