मंगलबार, वैशाख ११, २०८१

भुटानविरुद्ध नेपालको फराकिलो जित

नेपालखोज २०७९ चैत ८ गते २२:१४

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले फराकिलो जित निकालेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार नेपालले भुटानलाई ५-० गोल अन्तरले हराएको हो ।  

नेपालको जितमा वर्षा ओली र सेनु परियारले २-२ गोल गरिन् । दिपा रोकायाले एक गोल गरिन् ।  खेलको १६ औं मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई अग्रता दिलाईन् । ३० औं मिनेटमा दिपाले गोल गर्दा नेपालको अग्रता दोब्बर बन्यो ।

खेलको ३४ औं मिनेटमा सेनुले गोल गरेपछि नेपाल ३-० ले अघि रह्यो । वर्षाले ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० ले अघि रह्यो । त्यसपछि खेलको ५८ औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले विजयी भयो ।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । भुटानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया