बुधबार, वैशाख १२, २०८१

ओजिलले लिए व्यावसायिक फुटबलबाट संन्यास

नेपालखोज २०७९ चैत ९ गते ११:४५

काठमाडौं । जर्मनीका फुटबल विश्वकप विजेता मिडफिल्डर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट संन्यास लिएका छन्। ३४ वर्षको उमेरमा ओजिलले फुटबलबाट संन्यास लिएका हुन्। २०१४ को ब्राजिल विश्वकप जर्मनीले जित्दा ओजिल त्यसको एक हिस्सेदार थिए ।
स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब आर्सेनलमा समेत मिडफिल्डर रहिसकेका ओजिलले २०१८ मै जर्मनी राष्ट्रिय टिमबाट संन्यास लिएका थिए।

‘म व्यावसायिक फुटबलबाट तत्काल संन्यास लिने घोषणा गर्दैछु। मैले करिब १७ वर्ष एक व्यावसायिक फुटबल खेलाडी बन्ने सुअवसर पाएँ र म यो अवसरको लागि अविश्वसनीय रूपमा आभारी महसुस गर्छु,’ ओजिलले बुधवार आफ्नो सोसल मिडियामा एक विज्ञप्तिमार्फत भनेका छन्।
जस्तोसुकै परिस्थिति र जुनसुकै क्लबमा रहँदा पनि साथ र समर्थन गर्ने आफ्ना फ्यानहरुलाई उनले धन्यवाद दिएका छन्।

उनले सन् २०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएपछि आफूले ‘जातीयवादी’ आक्रमणको अनुभव गरेको बताए।
‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’ ओजिलले जर्मन राष्ट्रिय टोलीबाट बाहिरिँदै गर्दा भनेका थिए।

प्रतिक्रिया