शुक्रबार, वैशाख १४, २०८१

सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

नेपालखोज २०७९ चैत ९ गते १५:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताएका छन् ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

‘नेपालको सन्दर्भमा सामुदायिक रेडियोले एफएम प्रविधिबाट नेपाली जनताको सूचनको हकका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्,’ उनले भने ।

सूचनामा नागरिकको पहुँच बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, मानव अधिकार, विधिको शासन, सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलन, न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

‘शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका इतिहासमा नै अविस्मरणीयरुपमा स्थापित छ,’ उनले भने ।

विश्वमा रेडियोको इतिहास एक सय २८ वर्ष पुरानो भएको स्मरण गर्दै उनले नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको र रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे ।

जनयुद्ध, दोस्रो जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सम्मान गरे ।

प्रतिक्रिया