शुक्रबार, वैशाख ७, २०८१

उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

नेपालखोज २०७९ चैत १० गते १३:४८

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् । उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन् ।

उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु’, उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुने भएको थियो ।

प्रतिक्रिया