शुक्रबार, चैत १६, २०८०

स्वस्थ, स्वच्छ र सफा जनकपुरधाम, नागरिकस्तरबाटै सहयोग अपरिहार्य

नेपालखोज २०७९ चैत १० गते १७:३५

जनकपुरधाम । स्वस्थ, स्वच्छ र सफा जनकपुरधामका लागि हरेक नागरिकले मनदेखि नै प्रतिबद्ध भएर सहयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा हरेक शुक्रबार साप्ताहिकरूपमा भइरहेको बृहत् सरसफाइ कार्यक्रमअन्तर्गत छैँटौँ हप्ताको सरसफाइ अभियानका क्रममा आज सरोकारवालाले नागरिकस्तरबाटै सहयोग अपरिहार्य रहेको बताए ।

जनकपुरधाम उपमहानगपालिका प्रमुख मनोजकुमार साहले नगरलाई सफा राख्न घर, पसल तथा कार्यस्थलबाट निस्कने फोहरलाई जथाभावी नफाल्न नागरिकलाई सजग र सचेत गराउने उद्देश्यले उच्चपदस्त सरकारी कर्मचारीदेखि जनप्रतिनिधि सफाइ अभियानमा जुटेको बताए । ‘आफ्नो नगर सफा राख्नु हरेक व्यक्तिको जिम्मेवारी हो । प्रतीकात्मकरूपमा हामी आफैँ सडकमा आएर फोहर उठाइरहेका छौँ’, नगरप्रमुख साहले भने, ‘यस कार्यमा बृहत् नागरिक सहभागिता त जरुरी छ नै, त्योभन्दा बढी आफ्नो पसल, होटेल, घर र कार्यस्थलबाट निस्कने फोहर व्यवस्थापनका लागि स्वयं व्यक्ति नै जिम्मेवार एवं सचेत बन्न जरुरी छ ।’ उनले नगरले फोहर व्यवस्थापनका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउने र फोहर उठाउन गाडी पठाउनेलगायतका काम गरिरहे पनि नागरिकमा फोहर एक ठाउँमा जम्मा गर्ने बानीको विकास नहुँदा समस्या भइरहेको बताए ।

‘उहाँहरूले एउटा बोरा वा अरु भाँडोमा फोहर जम्मा गरेर हामीले पठाएको समयमा गाडीमा राख्ने काम गरिदिएमा पनि धेरै समस्या समाधान हुन्छ तर अहिले जथाभावी जहाँ खाली देख्यो त्यही फोहर फाल्ने काम भएकाले समस्या भएको छ’, उनले भने । दोस्रो चरणको कार्यक्रमअन्तर्गत दण्ड, जरिवाना र अन्य कारबाहीका कार्यहरू अगाडि बढाउने उनको भनाइ छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सामाजिककार्यका लागि हप्ताको एक दिन एक घण्टा छुट्याएर सरसफाइ अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले नगरपालिका र वडा कार्यालयको तहबाट पनि सरसफाइ अभियानमा सहभागी हुन सबैलाई प्रेरित गर्नुपर्ने बताए ।

‘हप्तामा एक दिन एक घण्टा सामाजिक कामका लागि छुट्याउने भनेर हामीहरू हरेक शुक्रबार सरसफाइ अभियानमा जुटेका छौँ । आज छैँटौँ हप्तासम्म आइपुग्दा सबै क्षेत्रको सहभागिता बढ्दै गएको छ’, प्रमुख जिल्ला अधिकारी दाहालले भने । नेपाली सेना श्रीनाथ गण महेन्द्रनगर धनुषाका कर्णेल सुरेश देवकोटाले फोहर व्यवस्थापनका लागि बृहत् योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले सडकपेटी, चोक तथा धेरै जमघट हुने ठाउँमा फोहर फाल्ने डस्टविनको व्यवस्था गर्नुपर्ने र त्यसो गर्दा पनि समस्या समाधान नभएमा नागरिकलाई सचेत गराउन दण्ड जरिवानालगायतका अरू उपाय पनि अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

‘यसअघि पनि जनकपुरधाम, धनुषाधामलगायतका क्षेत्रमा साप्ताहिकरूपमा एक एक सय हप्ताभन्दा पनि लामो समयसम्म सरसफाइ अभियान भएका थिए”, समाजसेवी ओम शर्माले भने, ‘जनकपुरमा फोहर व्यवस्थापनका लागि ठोस योजना बनाएर नागरिक तहमै त्यसको कार्यान्वयन गर्ने गरी अगाडि बढ्नुपर्छ ।’ धार्मिक नगरी भए पनि जनकपुरधाममा फोहर व्यवस्थापन हुन नसकेको भन्दै आलोचना हुने गरेको छ । रासस

प्रतिक्रिया