बिहीबार, चैत १५, २०८०

एउटा राणाकालीन विवाह

सुनील उलक २०७९ चैत ११ गते ७:४३

२००७ सालमा राजा तथा जनताको सहयोगमा १०४ वर्ष लामो राणा शासन समाप्त भयो । देशमा प्रजातन्त्र आयो । जसरी अहिले नेपालीले गणतन्त्र आए के के न होला भन्ने सोचेका थिए त्यो समय पनि राणा शासन हटेपछि देशले धेरै कुरा पाउनेछ । जनताको सुखसयल बढ्नेछ भन्ने सपना देखेका जनतामा तुषारापात भएको थियो । शुरुमा भारत सरकार अझ भनौ नेहरुको षडयन्त्रले नाम मात्रको स्वतन्त्रताको अनुभुति भयो ।

भारतीय दवावमा हरेक काम गर्नुपर्ने निर्णयहरु गर्नुपर्ने बाध्यता भयो । २००७ सालको शुरु देखि नै जव राणाहरु बिरुद्धको आन्दोलन चर्किन थाल्यो । राणाहरुका एकथरी पनि राणाशासनको समर्थनमा आन्दोलन गर्न थालेको थियो । २००७ सालको पौष २० गते गौचरमा भरत शम्शेरको नेतृत्वमा हातमा खुकुरी लिएका एक जमातले प्रदर्शन गर्न थालेको थियोे । ववरशम्शेरका नाति भरतशम्शेरले ‘वीर गोरखा दल’को नामबाट समूह एकत्रित गरेका थिए । हातमा खुकुरी बोकेर हिड्ने भएको हुँदा जनताले भने ‘खुकुरी दल’ भनेर भन्न थाले । २००७ सालको कार्तिकमा भारत पुगेका राजा, भारतका लागी नेपाली राजदुत सिंहशम्शेर तथा भारतीय प्रधानमन्त्री नेहरु बिचको छलफल पछि तैयार बनाइएको बुँदाहरुलाई राणा प्रधानमन्त्री मोहनशम्शेरले पौष २४ गते स्विकार्न बाध्य भए ।

फागुन ७ मा देशमा राणाशासन समाप्त भएको घोषणा भयो । तर केही समयको लागी मोहनशम्शेरले प्रधानमन्त्रीत्व र बबर शम्शेरले रक्षा मन्त्रालयको जिम्मा लिए । राणाहरुको षडयन्त्र समाप्त भएको थिएन । दार्जिलिङबाट गोरखा लिगका सदस्य रणधिर सुब्बालाई पनि काठमाडौ बोलाएर वीर गोरखा दलको प्रमुख सल्लाहकार बनाइएको थियो । खुकुरी दलको आतङ्कको विरोधमा काठमाडौं तथा पाटनको टोलटोलमा रक्षा मण्डल गठन गरिएको थियो । अन्तत गृह मन्त्री विपी कोइरालाको पहलमा खुकुरी दलमाथी २००७ साल फागुन १९ गते प्रतिवन्ध लाग्यो । खुकुरी दल अझ हिंस्रक बन्न थाल्यो । अन्तत चैत्र ३० गते बिहान ६ बजे नै भरतशम्शेर तथा रणधिर सुब्बा पक्राउ परे । जसको विरोधमा निस्केको खुकुरी दलको हिंस्रक जुलुसले गृहमन्त्री विपी कोइरालाको निवासमा आक्रमण गर्न गयो ।

यो प्रयास विपीको हत्याको प्रयास थियो । विपीले आफ्नो सुरक्षार्थ हानेको गोलीले खुकुरी दलका एक कार्यकर्ता सुवेदार कुलध्वजको मृत्यु भएको थियो । भिडले भरतशम्शेर र रणधिर सुब्बालाई निकालेर लग्यो । खुकुरी दलको हिंस्रक जुलुस बजारमा घुमिरह्यो । टुँडिखेलमा कवाज गरिरहेका सैनिकहरुलाई भरतशम्शेरले भड्काउन खोज्यो तर सेनापति केशरशम्शेरले रोक्यो । यदि त्यो समय केशर शम्शेरले राणाहरुको समर्थनमा सेनालाई उक्साएको भए । फेरी अर्को कोटपर्व हुन्थ्यो । सयौ जनताको साथसाथै विपी, गणेशमान र कृष्णप्रसाद लगायत कैयौ नेताहरु मारिन्थे । त्यहि साँझ भरतशम्शेर फेरी समातिए । यहि निहुमा प्रधानमन्त्री मोहनशम्शेरलाई विपीको हत्याको प्रयासको आरोप लाग्यो । जसले गर्दा प्रधानमन्त्रीको राजिनामा माग्न थालियो ।

फलस्वरुप चैत्र ३१ गते राजा त्रिभुवनको अध्यक्षतामा मन्त्रीमण्डलको बैठक बस्यो । तर अचानक भारतीय राजदुत सिपिएन सिंह तथा राजा त्रिभुवनको सचिवको रुपमा नेहरुले पठाएका भारतीय नागरिक गोविन्दनारायणको षडयन्त्रले मोहनशम्शेरको राजिनामा रोकियो । तर श्री ३ को ब्यक्तिगत सुरक्षाको लागी तत्पर बिजुली गारदलाई सिंहदरवारबाट हटाएर नारायणहिटी लगियो । यछि यहि सेना राजाको निजि सेना झै बन्दै गयो । बैशाख ८ गते मोहनशम्शेर सिंहदरवारबाट बाहिरिए । आफ्नै निजी निवास लक्ष्मी निवासमा सरे । २००८ को जेठ २६ गते मोहनशम्शेरकै प्रधानमन्त्रीत्वमा मन्त्रीमण्डलको पूनर्गठन भयो ।

यसरी २००८ सालमा प्रतिवन्धित भएको वीर गोरखा दलका अगुवा भरतशम्शेरले २०१५ सालको आमचुनावमा नेपाल राष्ट्रवादी गोरखा परिषदको नामबाट चुनावमा भाग लिए । कुल १०९ स्थान मध्य ८६ स्थानमा आफ्ना प्रत्यासी उठाएका थिए । परिणाम आँउदा १९ सिटमा विजय हासिल गरेर प्रमुख प्रतिपक्ष दलको रुपमा पहिलो संसदमा स्थापित हुन सक्यो । साथै भरत शम्शेर सोही दलको अगुवाको रुपमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा रहे । तर यो समय लामो रहेन । अचानक राजा महेन्द्रले संसद विघटन गराइ सबै नेताहरुलाई नजरवन्दमा राखे । भरतशम्शेर पनि जेल परे । पंचायत कालमा आफ्नो दललाई निशर्त कांग्रेसमा विलय गराएर पंचायतको विरुद्धमा लागे । भारत निर्वासनमा रहदा कलकत्तामा बसेर चलचित्र निर्माण गर्न थाले ।

सन् १९७१ मा निर्मित सिमाबद्ध नामक बंगाली चलचित्र प्रख्यात निर्दशक सत्यजित रायको निर्देशनमा बनेको थियो । जुन चलचित्र शर्मिला टैगोर अभिनित थियो । यस चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार तथा भेनिस फिल्म फेस्टिवलमा पनि एवार्ड जित्न सफल भएको थियो । यस चलचित्रको साथसाथै अन्य केही चलचित्र पनि बनाएका थिए । यिनै भरत शम्शेर राणाको गत वर्ष २०७५ साउन २६ गते कलकत्तामा वहाँको देहावसान भयो । यहा उनै भरत शम्शेर राणाको विवाहको समारोहको लागी जाँदै गरेका दरवारिया चेली, सुसारे तालिमे नानीहरुलाई देख्न सकिन्छ । २९ नम्बरको यो गाडीमा पछाडी लहरै दरवारिया चेली, सुसारे, तालिमे नानीहरुलाई छाता ओढेर बसेको देख्न सकिन्छ ।

प्रतिक्रिया