बिहीबार, वैशाख ६, २०८१

मुख सिलाउने सरकार

युवराज गौतम २०७९ चैत ११ गते १०:५९

किन चिच्याउनु सरकार विरुद्ध ?
किन कराउँदै हिड्ने
रोग, भोक, शोक सहन नसकेर ?
भेदभाव र बेथिति भयो भन्दै
किन सडकमा उफ्रिनु !

सरकारले मुख थुनेर
आवाज दबाउनु हुन्न भन्ने तिमी
“तँ, तिमी, तपाईं र हजुर” मा विभक्त जनता
सार्वभौमसत्ताका स्वामी ।

हिजो हत्यारा, डाँका र रंगीचंगी फिरङ्गीका एजेन्डामा दाैडिनेहरु
अपराधीलाई काँधमा बोकेर हिड्नेहरु
सरकारले मुख सिलाउन थाल्यो भन्दै
कराएका छन् ससाना बथानमा बाँडिएर।

सरकार र प्रतिपक्ष छुट्टाउन सकिन्न अचेल
जनता र कार्यकर्ता छान्न झन् मुस्किल
पत्रकार, वकिल, प्राध्यापक वा यस्तै मान्छे
कहिले यता, कहिले उता ठाउँ सरिरहन्छ ।

नगरबधुले ग्राहक बदले झैं
पटकपटक सिद्धान्त फेरिरहने
बोलीको ठेगान नभएका
हजारौं “राजनीतिक” पेशेवर पाल्न तयार
नेताका आज्ञाकारीहरुले
बोल्दा के हुन्छ !
नबोल्दा के हुन्छ !

जहाँ नेताले दिएको
दाना खाँदै जनता जन्तु बनेर
नेतालाई जयजयकार गर्छन्
त्यहाँ सरकारले मुख सिलाउने गर्छ
आफ्ना दासहरुको !

जनता साँच्चै जनता बनेर
ऐक्यबद्ध नभएसम्म
जति चिच्याउनु छ चिच्याऊ
कुनै अर्थ छैन त्यसको
सरकारलाई थाहा छ
नेताका मोजा निचोरेर
सर्वत खानेहरुको आवाज
आफैंलाई गरेको ब्यङ्ग्य हो।

प्रतिक्रिया