शुक्रबार, चैत १६, २०८०

खेलकुदलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

नेपालखोज २०७९ चैत ११ गते १७:४७

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आजदेखि पटिहानीमा सुरु भएको नेपाल कराँते महासङ्घको महाधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले खेल क्षेत्र देशको मात्रै नभएर अन्तर्राष्ट्रिय गौरवको विषय भएको बताए ।

उनले भने, ‘खेल क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ । खेलकुदका क्षेत्रमा बजेट बढाउन सरकार लागेको छ ।’ खेलकुदका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा गौरव बढाउने उनले बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालको प्रगतिले सरकारलाई लगानी गर्न बाध्य बनाएको बताउँदै उनले खेलकुद क्षेत्र चलायमान हुन आवश्यक रहेको बताए । विगत १० वर्षदेखि अधिवेशन हुन नसकेको कराँते महासङ्घले अधिवेशनपछि आफ्नो गतिविधि बढाउनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनसँग खेललाई जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । देशमा खेल क्षेत्रले फड्को मारिरहेको समयमा कराँतेले पनि सोहीअनुसार विकास गर्न सक्नुपर्ने उनको भनाइ थियो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्क घिसिङ, भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो र कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायतले बोलेका थिए ।

महाधिवेशनमा देशभरमा ७६ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सात जना कार्यसमिति सदस्यसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यस्तै हरेक प्रदेशले एक–एक जना केन्द्रीय सदस्य प्रदेशले नै छानेर पठाउने छ ।

प्रतिक्रिया