शुक्रबार, वैशाख ७, २०८१

सङ्घर्ष जारी राख्ने गान्धीको भनाइ

नेपालखोज २०७९ चैत ११ गते १७:५१

काठमाडौं । भारतीय काङ्ग्रेका शीर्ष नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको एक प्रमुख व्यापारिक सहयोगीको छानबिनको मागलाई लिएर संसदबाट निष्कासन गरेको आरोप लगाउँदै आफू लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरिरहने बताएका छन् ।

मोदीको गृहराज्य गुजरातमा सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री मोदीको अपमानको रूपमा हेरिएको टिप्पणीका कारण ५२ वर्षीय विपक्षी नेता गान्धीलाई मानहानीको अभियोगमा दोषी ठहर गरिएको एक दिनपछि शुक्रबार उनलाई संसद् सदस्यबाट हटाइएको थियो ।

गान्धीको कारबाहीलाई भारतको विपक्षी राजनीतिक समूह र केही अधिकारवादी समूहहरूले मोदी सरकारका आलोचकहरूलाई निशाना बनाउन र चुप गराउन कानूनको प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । नेता गान्धीले आफू धम्कीको अगाडि नझुक्ने बताएका छन् ।

उनले भने, ‘यो देशको लोकतान्त्रिक प्रकृतिको रक्षाका लागि मैले जे गर्नुपर्ने हो, त्यो गर्नेछु ।’

सत्तारुढ दलतर्फ सङ्केत गर्दै उनले भने, ‘उनीहरू सबैलाई तर्साउन अभ्यस्त छन् तर म उनीहरूसँग डराउँदिनँ ।’

भारतका सबैभन्दा शक्तिशाली उद्योगपतिमध्येका एक गौतम अडानीसँग प्रधानमन्त्री मोदीको सम्बन्ध छानबिनको घेरामा रहेका बेला मोदीका मुख्य प्रतिद्वन्द्वीलाई संसदबाट हटाइएको हो ।

मोदी दशकौंदेखि अडानीका निकट सहयोगी हुनुहुन्छ तर अडानीमाथि अमेरिकी लगानी कम्पनीले ‘निर्लज्ज’ कर्पोरेट भ्रस्टाचारको आरोप लगाएपछि मोदीको व्यापारिक साम्राज्य यस वर्ष नयाँ चर्चाको विषय बनेको छ ।

गान्धीको विपक्षी काङ्ग्रेस पार्टीले हप्तौंदेखि आरोपको संसदबाट उचित छानबिनको माग गर्दै आएको छ ।

उनले भने, ‘मलाई अयोग्य घोषित गरिएको छ किनभने अडानीका सम्बन्धमा आउने अर्को भाषणसँग उनीहरू डराएका छन्,’।

उनले भने, ‘अडानीसँग प्रधानमन्त्रीको सम्बन्ध कस्तो छ ? म यो प्रश्न सोधिरहनेछु ।’

गान्धीलाई सांसदपदबाट हटाएको विरोधमा काङ्ग्रेस समर्थकहरूले शनिबार देशका विभिन्न सहरमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया