शुक्रबार, वैशाख १४, २०८१

कानुन बनाएरै मिटरब्याजीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालखोज २०७९ चैत १४ गते १६:४५

काठमाडौं । सरकारले कानुन बनाएरै मिटरब्याजीलाई कारबाही गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा सदस्य रहे गरि वार्ता टोली गठन गरेका छन् ।

मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरूले भने आफूहरूलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटरब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया