बिहीबार, चैत १५, २०८०

ठूला खानेपानी आयोजनाका स्रोत नदी र खोला

नेपालखोज २०७९ चैत १५ गते १६:४६

काभ्रेपलाञ्चोक । जिल्लामा पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । केही भर्खरै सञ्चालनमा आएका र केहीको निर्माण अन्तिम चरणमा पुगेका छन् । सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला हुन् ।

नदी–खोला किनारमा ठूलाठूला इनार बनाइ पानी सङ्कलन गर्ने र ‘लिफ्टििङ’ प्रविधिमार्फत डाँडामा पानी तानेर बस्तीमा वितरण गर्नेगरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । गोर्खा भूकम्पले जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला खानेपानीको स्रोत बनेका हुन् । प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माणाधीन छन् ।

काभ्रेपलाञ्चोकको पाँच ठूला खानेपानी आयोजनामध्ये तीन नगरका लागि सञ्चालित काभ्रे उपत्यका वृहत् खानेपानी आयोजनालाई पानी लिफ्ट गर्नुपर्दैन । त्यसमा पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव, मूलडोल तथा बनेपाको शशीपानी खानेपानीको स्रोत हो । जुन स्रोत बस्तीभन्दा माथि छन् । तीन नगरका करिब ९३ हजार उपभोक्तालाई रू एक अर्ब लागतमा उक्त खानेपानी आयोजना निर्माणाधीन छ । आयोजनाको करिब ९७ प्रतिशत काम सकिएको जनाइएको छ । सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा सक्ने गरी सम्झौता भएको उक्त आयोजना ११ वर्ष बित्दा पनि सम्पन्न भएको छैन ।

नमोबुद्ध नगरपालिकाको ७, ८ र ९ वडालाई थालिएको काशीखण्ड वृहत् खानेपानी आयोजनाको पानीको स्रोत रोशी खोला हो । उक्त खोलाबाट लिफ्टििङमार्फत छ दशमलव पाँच किलोमिटर दूरीको डराउनेपोखरीस्थित तल्लो हटिया कालीकुवामाथि डाँडामा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोही ट्याङ्कीबाट खानेपानी वितरणका योजना बनाइएको हो ।

रू अठार करोड ४७ लाखमा सम्झौता भएको यस आयोजनामार्फत तीन वडाका एक हजार पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध गराइने छ । आयोजनाका अध्यक्ष मनोज अधिकारीले नगर क्षेत्रभित्र खानेपानीको मूल नहुँदा खोलाबाटै लिफ्टिङ गरी पानी ल्याउनुपरेको बताए । आयोजना विसं २०८१ मङ्सिर २३ गते सम्पन्न गर्ने सम्झौता भएको हो ।

दश वडामा खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल वृहत सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत इन्द्रावती नदी हो । भुम्लु गाउँपालिका–१० विमीरेस्थित उक्त नदी किनारमा इनार निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिफ्टिङ प्रविधिमार्फत पाँचखाल ल्याइने तयारी छ ।

विसं २०७९ पुस मा सक्ने गरी २०७६ भदौ १२ गते रू एक अर्ब ३४ करोड ६६ लाखमासम्झौता भएको थियो । पाँचखालभन्दा उच्च क्षेत्रमा खानेपानीका कुनै स्रोत नहुँदा नदीको किनारनै खानेपानीको स्रोत बनाइएको आयोजनाका उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछोले बताए । त्यसको करिब ७८ प्रतिशत काम सकिएको छ । ‘अहिले मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ, एक हजार सात सयका घरमा धारा जडान कार्य सकियो’, लामछिानेले भने । आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भूइँ ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङ्की छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई) लगायतका भौतिक पूर्वाधार निर्माणाधीन छ ।

तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने उद्देश्यले सात वर्षअघि निर्माण सुरु गरिएको तेमाल वृहत खानेपानी आयोजनाको पानीको स्रोत सुनकोशी हो । कोभिड र प्राकृतिक प्रकोपले निर्माण ढिलाइ भएको उक्त आयोजना छिट्टै सक्ने लक्ष्य लिइएको छ । ‘भूकम्पपछि खानेपानीको मुहान सुकेपछि नदीलाई नै खानेपानीको स्रोत बनाउनुपरेको हो’, उनले भने ।

सरकार, खानेपानी विभागमार्फत रू एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा निर्माण गरी सञ्चालन गरिएको उक्त आयोजनामा खानेपानी वितरणका लागि याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई ट्याङ्की बनाइएको छ ।

आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । उक्त आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको छ । तेइस ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ । प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा खानेपानी पानी पुर्याउन इन्द्रावती नदीको पानी लिफ्टििङ गर्न लागिएको छ । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा दुईवटा समवाएल निर्माण गरी पानी खसालिने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लान)को निर्माण अन्तिम चरणमा पुगेको छ । यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा २३ वटा वितरण ट्याङ्की बनाइएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको रू ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रू एक अर्बको आयोजना स्वीकृत गरिएको हो । आयोजनाका लागि नगरले रू ५१ लाख ६६ हजार दिएको छ ।

प्रतिक्रिया