बुधबार, वैशाख १२, २०८१

सङ्घीय संसद् भवन पूरा गर्न समय माग

नेपालखोज २०७९ चैत १६ गते १२:५४

काठमाडौं । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् ।

विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो ।

उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताए । ‘निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन् । जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन’, उनले भने ।

उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिए । छ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उनको भनाइ थियो । कूल रु पाँच अर्ब ६७ करोड २६ लाख (भ्याटसहित)को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो । चौबिस हजार तीन सय ८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो ।

संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडौंको परम्परागत वास्तुकला झल्कने खालको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् ।

हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक रु साढे १४ करोड भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गरेका थिए ।

प्रतिक्रिया