मंगलबार, वैशाख ११, २०८१

भारतमा कोरोनाका बिरामी बढे, सचेत रहन डब्ल्यूएचओको आग्रह

नेपालखोज २०७९ चैत १८ गते ७:१६

नयाँदिल्ली । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । हिजो एकै दिन ३ हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा २ हजार २ सय ८ जनामा सङ्क्रमण देखिएको थियो ।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ९ रहेकामा त्यसमा वृद्धि भै १५ हजार २सय ८ पुगेको छ । मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म २ अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । भारतको केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

यसबीच , विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कारोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको ६ देखि १२ महिनाको अन्तरालमा ‘ बुस्टर डोज ’ लगाउन सुझाईएको छ ।

गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकता दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया