मंगलबार, वैशाख ४, २०८१

एसईईको इतिहास

सुनिल उलक २०७९ चैत १८ गते १०:३८

काठमाडाैं । हिजोबाट बिद्यार्थीहरु एसईई मा सम्मिलित भए । कुनै बेला म्याट्रिकुलेसनको परीक्षा भनिने बिद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठन पश्चात एसएलसी नामाकरण भयो । पछि अन्तराष्ट्रिय पद्दतीको अनुसरण गर्दै उच्च माध्यामिक तह प्रवेश गर्नु अगाडिको परीक्षाका रुपमा एसईई नामाकरण गरियो ।

बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बि.सं. १९१० मा जनरल धीरशम्शेरको दरवार थापाथली दरवार भित्र राणाहरुका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरे । यस अगाडि संस्कृत शिक्षा दिने गरिन्थ्यो । दरवार भित्र यसरी शुरु भएको स्कुललाई दरवार स्कुल भन्न थालियो । यो स्कुल पछि हिटी दरवारमा सारियो । हिटी दरवारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्र भाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे । पछि वि.सं. १९३३ सालमा सेतो दरवारमा सारिए पछि भने अन्य राणाका सन्ततीहरुले पनि पढ्न पाए । १९४२ मा आइपुग्दा अन्य भारदारका छोरा नातिहरुलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरवार स्कुलको आफ्नै भवन भयो । रानीपोखरीको पश्चिममा भवन तयार भए पछि सेतो दरवारबाट दरवार स्कुल अहिलेको दरवार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो । शुरुमा केही राणाका छोरा नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि सबैलाई पढ्न छुट भए पछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो ।

अहिलेको एसईई सरहको म्याट्रिकुलेसनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । वि.सं. १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा १९८० देखि पटना विश्व विद्यालयबाट सम्वर्धन प्राप्त गरेको थियो । १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । तर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलेसन परीक्षा दिन पाएनन् । १९३७ मा म्याट्रिकुलेसन परीक्षा दिन चन्द्रशम्शेर कलकत्ता पुगे र उतिर्ण पनि भए । चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्नेमा पर्न पुगे । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण ब्यवस्था सरकारले नै गरिदिन्थ्यो। जाने आउने तथा बस्ने खाने ब्यवस्था सरकारबाट नै हुने गर्दथ्यो । बि.सं. १९८५ मा म्याट्रिकुलेसन वोर्ड ‍(म्याट्रिकुलेसन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । बि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्थ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्व विद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्व विद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेसन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो । दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहाँ क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरबार हाई स्कुलमा क्षति पुगेका कारण बाँकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रि-चन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्ल नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।

एसएलसीको परिक्षाको नतिजा २००७ सालदेखि नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । गोरखापत्रमा बोर्डमा आउनेहरुको नाम आउँदा गर्व गर्न पाउँथे । तर दोश्रो जनआन्दोलनले आबश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्याए । २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।

तस्विरमा २००१ सालमा एसएलसी उतीर्ण गर्नुभएका विश्वेश्वर प्रसाद रिमालको दोश्रो दर्जामा उतीर्ण भएको सर्टिफिकेट ।

प्रतिक्रिया