शुक्रबार, वैशाख ७, २०८१

काभ्रेमा पुन: डेंगु र कोरोना संक्रमण

नेपालखोज २०७९ चैत १८ गते १९:२७

काभ्रे । काभ्रेमा पुनः डेंगु र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल–३ का ५१ वर्षीया एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उहाँ घरमै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार–प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए । जिल्लामा तीन वर्षपछि पाँचखालमा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

डेंगु रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ ।

जिल्लामा हालसम्म छ सय ८० मा डेङ्गुको सङ्क्रमण देखिएको हो । कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेढार्इँका अनुसार बनेपा नगरपालिका–३, पनौती नपा–२ र नमोबुद्ध नपा–२ मा कोभिड पुष्टि भएको हो । जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया