मंगलबार, वैशाख ११, २०८१

हक अधिकारका लागि सामूहिक एकता आवश्यक : प्रदेश प्रमुख गुरुङ

नेपालखोज २०७९ चैत १८ गते २१:११

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातीय हक अधिकारका लागि सामूहिक एकता आवश्यक रहेको बताएका छन् । पोखरामा आज तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को १३औँ राष्ट्रिय पार्षद सभाको उद्घाटन गर्दै राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनाका लागि सामूहिक एकता आवश्यक रहेकामा उनले जोड दिए । एक्लाएक्लै अघि बढ्नुभन्दा समूह बनाएर जाँदा लक्ष्य भेट्न सहज हुने उनको तर्क थियो ।

तमुहरूको भाषा, संस्कार, संस्कति जगेर्ना गर्नका लागि एकता आवश्यक रहेको उनले बताए । यसमा तमु ह्युल छोंज धिं गुरूङ राष्ट्रिय परिषद्ले सराहनीय काम गरेको उनको भनाइ थियो । आगामी दिनमा पनि रचनात्मक काम गर्दै तमु जातिको अस्तित्व कायम गर्न भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

ऋाजदेखि सुरु भएको भेला आइतबार सकिने तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । केन्द्रीय पार्षद सभामा गरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका विषयमा छलफल हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

‘तमु भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आह्वान, तमु भाषामा तमु थातथलोको नाम पुनःस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना भएको भेलामा देशभरबाट गरी छ सय प्रतिनिधिको सहभागिता रहेको महासचिव डम्बर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया