शनिबार, वैशाख १५, २०८१

यमनको ताइजमा अज्ञात बन्दुकधारीद्वारा सैनिक कर्नेलको हत्या

नेपालखोज २०७९ चैत १८ गते २१:४५

एडेन । यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा अज्ञात बन्दुकधारीले सरकारी सेनाका एक वरिष्ठ सैनिक अधिकारीको हत्या गरेको एक सुरक्षा अधिकारीले शनिबार सिन्ह्वालाई बताएका छन् ।

नाम नबताउने शर्तमा एक जना स्थानीय सुरक्षा अधिकारीले भने, ‘ताइज प्रान्तको मध्यभागमा रहेको वादी अल–कादी इलाकामा शुक्रबार राति मोटरसाइकलमा आएका दुई जना नकाब पहिरेका बन्दुकधारीले गोली चलाएर कर्णेल यासिर अल–हाशिदीको हत्या गरेका छन् ।’

यमनमा हुथी समूहविरुद्धको अभियानको नेतृत्व गर्न सक्रिय भूमिका खेलेका अल–हाशिदीले सरकार समर्थित सेनासँग सम्बद्ध तेस्रो बोर्डर गार्ड ब्रिगेडको अपरेसन प्रमुखका रूपमा काम गरेका थिए। अधिकारीका अनुसार स्थानीय सुरक्षा अधिकारीहरूले घटनास्थललाई तुरुन्तै नियन्त्रणमा लिई ‘ड्राइभ–बाई’ गोलीकाण्डको घटनाको अनुसन्धान सुरु गरेका छन् । यमनका विभिन्न युद्धरत पक्षहरूले एकअर्काको सेना र राजनीतिक व्यक्तित्वहरूलाई लक्षित गर्दै द्वन्द्व चर्किंदै जाँदा हालैका वर्षहरूमा हत्याका घटनाहरू बढी भएका छन् ।

यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ । हुथी लडाकू समूहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यसका सहयोगीहरूविरुद्ध लडिरहेको छ । राष्ट्रसङ्घद्वारा मान्यता दिएको यमनी सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले पनि सहयोग गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घले यमनमा आठ वर्षभन्दा लामो गृहयुद्ध अन्त्यका लागि युद्धविराम र शान्ति वार्ताका लागि दबाब दिँदै आएको छ । यस द्वन्द्वले अरब विश्वको सबैभन्दा गरिब देशलाई पतनको सङ्घारमा पुर्यायाे । युद्धका कारण लाखौं मानिसहरू पर्याप्त पोषणको पहुँचबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया