शनिबार, वैशाख २२, २०८१

सेवा बिस्तार गर्दैै आँखा अस्पताल

नेपालखोज २०७९ चैत २४ गते १६:५२

काठमाडौं । नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको उद्देश्य आँखा उपचारमा सबैको सहज पहुँचमा पुर्याउनु रहेको बताए । ‘आँखा उपचारमा सबैको पहुँचमा आवश्यक छ, विशेष गरी दुर्गम र सुविधाविहीन क्षेत्रमा उच्च गुणस्तरको उपचार सेवा उपलब्ध गराउन स्थानीय तह र सरकारसँग समन्वय गरी काम गर्ने तयारी भइरहेको छ’, उनले भने ।

विसं २०३० चैत २६ मा त्रिपुरेश्वरमा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्ण महोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायतका सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् ।

प्रतिक्रिया