शनिबार, जेठ ५, २०८१

काभ्रेमा ‘मातृ सुरक्षा’ अभियान

नेपालखोज २०८० वैशाख ४ गते १४:५५

काभ्रे । काभ्रेपलाञ्चोकमा ‘मातृ सुरक्षा’ अभियान थालिएको छ । महिलाबाट शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसका लागि कार्यालयले जिल्लास्थित प्रजनन स्वास्थ्य समन्वय समिति तथा सरोकारवालासँग अभिमुखीकरण गरेको छ । कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोकी सुत्केरीको जीवन सुरक्षित गर्न जिल्लामा मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको बताए ।

‘गर्भवती भई नियमित स्वास्थ्य संस्थामा गर्भ परीक्षण गरिरहेका महिलालाई आठ महिनापछि संस्थाबाटै उक्त चक्की दिई सेवनबारे जानकारी गराइने छ’, उनले भने । सेढाइँका अनुसार गर्भवतीलाई चक्कीका साथमा जीवन सुरक्षा, आइरन चक्की, नाभी मल्हम, घरमै बच्चा जन्मिँदा हुनसक्ने सम्भावित जोखिम र नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापनका बारेमा समेत सचेत गराइन्छ । घरबाट अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा सुत्केरी भई अत्याधिक रक्तस्राव भएमा ‘मिजोप्रोस्टल’ नामक तीन चक्की ओठले च्यापेर खुवाउन सकिएको अवस्थामा महिलालाई अत्याधिक रक्तस्रावबाट बचाउन सकिने सेढाइँले बताए ।

धुलिखेल अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा सुमन ताम्राकारका अनुसार उक्त चक्कीले खुलिरहेको पाठेघरलाई खुम्च्याउन सहयोग पुर्याउँछ । उक्त औषधिले रक्तस्राव नरोकिए पाठेघरबाहेक अन्यत्र स्थानबाट पनि निरन्तर रक्तस्राव हुनसक्ने भएकाले सकेसम्म छिटो गर्भवतीलाई नजिकैको स्वास्थ्य संस्थामै पुर्याउनुपर्ने उनको भनाइ छ ।

सरकारले नवजात शिशु तथा आमाको निधनको दरलाई सन् २०३० सम्ममा शून्यमा झार्ने रणनीति अपनाएको छ । यो अभियानले मातृ मृत्युलाई रोक्ने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकमा रहेका अस्पताल तथा १३ स्थानीय तहका स्वास्थ्य संस्था, सामाजिक संस्था, समुदाय र स्थानीय जनप्रतिनिधिमार्फत अभियान प्रभावकारी बनाइने योजना बनाइएको छ ।

प्रतिक्रिया