शनिबार, वैशाख २२, २०८१

क्लासिक कार : लगानीका उत्तम माध्यम

नेपालखोज २०८० वैशाख ९ गते ९:३२

काठमाडाैं । सन् २०२२ मा जब सेयर बजार ओरालो लागेको थियो, हरेक किसिमको लगानी सुकेको थियो, त्यतिबेला एउटा यस्तो लगानी थियो जसको प्रतिफल ह्वात्तै बढ्यो । त्यो क्लासिक कारको बजार थियो। जर्मनीको फ्लोरियन जिम्मरम्यानका लागि क्लासिक कार सङ्कलन गर्नु एउटा शौक मात्र होइन । जब उनी मर्सिडिज बेन्जमा काम गर्थे, उनले प्रयोग भएका कारहरू किन्न थाले । फलस्वरूप आज उनीसँग ३ सय वटा कार छन् । फ्लोरियनका लागि यो सङ्कलन अब ठूलो खजाना भएको छ किनभने क्लासिक कार बजारले लगानीको सबै रेकर्ड तोड्ने क्रम जारी राखेको छ ।

पछिल्लो दशकमा क्लासिक कारको मूल्य १ सय ८५ प्रतिशतले बढेको छ । क्लासिक कार विश्वभरि नै उत्कृष्ट रिटर्न दिने लगानी मध्ये एक भएको छ । २०२२ मा पनि अन्य सबै लगानी विकल्प बिच क्लासिक कारको प्रतिफल उच्च रह्यो ।

२०२२ मा १९५५ मा बनेको मर्सिडीज बेन्ज ३०० एसएलआर उहलेनहाउट कूपे २३.२० करोड नेपाली रुपैयाँ बराबरमा बिक्री भएको थियो । यो कार आफ्नो समयमा संसारमा सबैभन्दा धेरै बिक्रि हुने कार थियो । क्लासिक कारको बिमा गर्ने कम्पनी ह्यागर्टीका अनुसार यस क्षेत्रमा हरेक वर्ष करिब ८० अर्ब डलरको कारोबार हुने गरेको छ । उत्तर अमेरिका यसको सबैभन्दा ठूलो बजार हो तर यो मध्य पूर्व, भारत तथा चीनमा पनि यसको बजार तीव्र गतिमा बढिरहेको छ ।

नाइट फ्र्याङ्कको २०२३ को वेल्थ रिपोर्ट अनुसार उत्कृष्ट कारहरू उत्कृष्ट रिटर्न दिने लगानीको सूचीमा शीर्ष स्थानमा छन् । त्यसपछि वाइन, लक्जरी घडी, आर्ट तथा दुर्लभ व्हिस्कीको पालो आउँछ ।

प्रतिक्रिया