शुक्रबार, वैशाख २१, २०८१

वायु प्रदूषणबारे नेपालभर चेतना फैल्याउन सेभ द चिल्ड्रेनको ‘साथी’अभियान 

नेपालखोज २०८० वैशाख ९ गते १४:४६

ललितपुर । वायु प्रदूषणबारे नेपालभर जनचेतना फैल्याउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान अगाडि सारेको छ । साथी अर्थात् भालु आकारको सेतो टेडि बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनेछन् ।

विश्वमा यति बेला नेपालको राजधानी काठमाडौं ज्यादै प्रदूषित सहरको सूचीमा सूचिकृत छ । यस सन्दर्भमा सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो ।

सेभ द चिल्ड्रेनलाई अन्य सङ्घसंस्था र बालबालिका तथा युवा अभियन्ताको साथ रहनेछ । 

साथी अवधारणाले नेपालभरका मानिसलाई वायु प्रदूषणबारे जानकारी दिन सहयोग पुग्नेछ । सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसार ‘साथी एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतीक हो । यसले बढ्दै गरेको प्रदूषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलबाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ । यस अभियान मार्फत हामी विभिन्न सरोकारवालाहरूसँग वातावरण संरक्षण सम्बन्धी कुराकानी र वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्छौँ र वहाँहरूलाई बालाबालीकाको भविष्यका लागि दिगो निर्णय लिन र वायु प्रदूषणका साथसाथै जलवायु परिवर्तन सम्बन्धी काम गर्न आह्वान गर्छौँ ।’

६ महिनाको अवधिमा चार मिटर (१२ फिट) अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईनेछ । विद्युतीय सवारी साधनले वायु प्रदूषण गर्दैन, यो वातावरण मैत्री हुन्छ जस कारण वायु प्रदूषणबारे चेतना फैल्याउने कार्यक्रममा विद्युतीय सवारी प्रयोग गर्न लागिएको हो ।

सेतो भालुलाई देशभर लगिँदा यसको रङ कालो हुँदै गएको देखाइनेछ । यसरी अभियन्ताहरूले मानिसहरूलाई सेतो भालु यानेकि टेडि बियर देखाएर वातावरण प्रदूषणको बेफाइदाबारे बुझाउने छन् ।

६ महिने अभियानका क्रममा वायु प्रदूषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास हुनेछ । जहाँ नीति निर्माता र प्रभावशाली सरोकारवालाहरूसँग वायु प्रदूषणसँगै जलवायु परिवर्तनबारे पनि छलफल गर्दै निष्कर्ष निकाल्ने प्रयत्न गरिनेछ ।

प्रतिक्रिया