शनिबार, वैशाख २२, २०८१

जग नबिर्सने श्रेष्ठ मन्त्री भएपछि निर्वाचन क्षेत्रको यात्रा

नेपालखोज २०८० वैशाख ९ गते १७:०६

काठमाडौं । गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भईन् । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उनी सांसद बनिन् ।

श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी धर्मपत्नी हुन् । थरुहट आन्दोलनका कमाण्डर चौधरी अहिले डिल्ली बजार कारागारमा कैदीबन्दीका रुपमा छन् । तर, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहेकी छिन् ।

उनी केन्द्रको सांसद मात्रै भईनन्, अहिले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा कार्यभार सम्हालीरहेकी छिन् । उनी गत चैत्र १७ गते मन्त्री नियुक्ति भएकी हुन् । मन्त्री नियुक्त भएलगत्तै उनी सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने र आवश्यक निति योजनाहरु बनाउने काममा व्यस्त भईन् ।

मन्त्री भएपछि तत्काल निर्वाचन क्षेत्र जान नपाएकी श्रेष्ठ शुक्रबार (वैशाख ८) गते पहिलो पटक सुदुरपश्चिम प्रदेश पुगिन् । विमान मार्फत निर्वाचन क्षेत्र पुगेकी उनी धनगढी बिमानस्थल ओर्लिए लगत्तै जिल्ला कारागार कैलाली पुगिन् ।

सचिवालयका अनुसार त्यहाँ जाने पुर्वनिर्धारित कार्यक्रम भने थिएन् । तर, मन्त्रीले कारगार जाउँ भनेपछि सचिवालयले उनलाई कारागारसम्म पुर्यायो । उनले त्यहाँ पुगेर टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेटिन् ।

सचिवालय सदस्यले रमेश बिकले भने, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग बिर्सनु भएको रहेनछ । आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी हुनुभयो र आफुहरुलाई रिहाईका लागि थप पहल गर्न अनुरोध गर्नुभयो ।’

राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताएको बिकले सुनाए । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पुर्वनिर्धारित कार्यक्रममा अघि बढेकी थिईन् ।

मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिईन् । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गरिन् ।

यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिईन् ।

मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिईन् ।

प्रतिक्रिया