आइतबार, वैशाख २३, २०८१

मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै

नेपालखोज २०८० वैशाख ११ गते ८:२४

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् ।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चितजस्तै छ । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो ।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे आयोजना गरिएको छ । मुख्यमन्त्री गिरीले गत माघको ५ गते विश्वासको मत लिएका थिए । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया