सोमबार, जेठ ७, २०८१

साँखु–लप्सीफेदी सडक पुन: निर्माण गरिने

रासस २०८० वैशाख ११ गते ९:२५

काठमाडाैं । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताए। उनले भने, ‘त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो बनाउन पुरानो सामग्री हटाएर नयाँ हालेर गर्नुपर्ने छ ।’ 

साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुङ्गा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको उनले बताए । अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने (ओभरले)गरिने डिभिजनको योजना छ ।  बढी समस्या भएको ठाउँमा तल्लो भाग नै हटाएर पुनःनिर्माण गरिन लागिएको उनले जानकारी दिए ।   

यसअघि कार्यालयले चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको एउटा खण्डमा पुनःनिर्माणको काम गत महिना सुरु भएको थियो । बल्खुदेखि कलङ्कीसम्म पुनःस्थापना यो आवभित्र सकिने उनले बताए ।  एक दशमलव दुई किमी लम्बाइमा सर्भिस लेनमा काम भइरहेको छ । चक्रपथको अरु खण्डमा तत्काल यस्तो समस्या नपाइएको उनले बताए । 

डिभिजन कार्यालयले चालु आवभित्र स्वीकृत कार्यक्रमअन्तर्गत कलङ्कीबाट खसीबजार हुँदै बल्खु खण्ड, लैनचौरदेखि महाराजगञ्ज, लैनचौरबाट चक्रपथ हुँदै बालाजु बाइपास, साँखुबाट लप्सीफेदी हुँदै भोटेचौरसम्म आवधिक मर्मत गरिरहेको छ ।

चक्रपथको बल्खु क्षेत्र र साँखुदेखि लप्सीफेदीसम्म बढी क्षति भएकाले पुनःनिर्माण अघि बढाउन लागिएको डिभिजन कार्यालयले जनाएको छ । साँखुबाट लप्सीफेदीसम्मको सडक सिन्धुपाल्चोक जोड्ने सडकका रुपमा रहेको छ । साँखु आफैँमा महत्वपूर्ण सहर रहेको छ भने सिन्धुपाल्चोकबाट जोडिने छोटो मार्ग भएकाले यो सडकको महत्व अझै बढेको छ । 

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया