सोमबार, वैशाख २४, २०८१

सुदूरपश्चिम पशुमा ‘लम्की स्किन’ रोगको समस्या

नेपालखोज २०८० वैशाख ११ गते १०:३१

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्की स्किन’ रोगको सङ्क्रमणबाट पशुपालन किसान प्रभावित हुन थालेका छन् ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालन किसानको भनाइ रहेको छ ।

गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।

पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्की स्किन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रूपमा गाई पालनमा लागेका किसानको फार्ममा देखा परेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्की स्किन रोग देखा पर्न थालेको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले जानकारी दिए ।

उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौ वटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।

‘रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ’, उनले भने, ‘रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाइ गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।’

सरुवा रोग भएकाले अरू पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालन किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे ।

उनका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशङ्का स्थानीय पशु पालकले गरेका छन् ।

‘रोगको निदानका लागि गाई गोरुको ओसार पसार र बेचबिखनको कार्य रोक्नु नितान्तै जरुरी छु’, शुक्लाफाँटा नगरपालिकाका पशु शाखाका अधिकृत नारायणदत्त भट्टले भने, ‘गाई गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन छ ।’

रोगलाई महामारीका रूपमा फैलिन नदिनका लागि किसानलाई सर्तक गराइनुपर्ने उनको भनाइ रहेको छ । लम्की स्किन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिँगा (स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।

पक्स भाइरस समूहको लम्की स्किन डिजिज भाइरसबाट सर्ने रोग हो । नेपालमा पहिलो पटक यो रोग विसं २०७७ मा मोरङ जिल्लामा देखा परेको थियो । 

प्रतिक्रिया