आइतबार, वैशाख २३, २०८१

घरेलु उद्यम प्रवर्द्धन गर्दै स्थानीय तह

नेपालखोज २०८० वैशाख ११ गते १०:५०

स्वर्गद्वारी । प्युठानका स्थानीय तहहरूले घरेलु उद्यम प्रवर्द्धनमा प्राथमिकता दिन थालेका छन् । चोया चित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । 

प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ ।

घरमै परम्परागत रूपमा गरिँदै आएको चोया चित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिए । ‘गाउँघरमा पुर्ख्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रूपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो’, उनले भने ।

गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भई व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । बाँझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भू–क्षय हुनबाट रोक्न यो योजना अति प्रभावकारी हुने कार्यक्रमको रूपमा लिएको गाउँपालिकाले जनाएको छ । 

स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा चोया चित्रो उद्योगका अध्यक्ष प्रदीप जिसीले बताए । सो उद्योगबाट  पच्चीस  स्थानीयवासीले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, पिङ्गो, ढडिया, मुडा, स्टुल , बेन्च, टेबुल, चिया दानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्र बनाउन तालिम समेत लिएका छन् ।

नौ बहिनी गाउँपालिकाले काठका भाडा बनाउने उद्यमलाई अघि सारेको छ । नौ बहिनी–८ फोप्ली, लुप्लुङमा काठका भाडा बनाउने तालिम सञ्चालन गरी काठका भाडा बनाउन थालिएको हो ।

नौ बहिनीका १२ युवालाई मोटरको प्रयोग गरी काठका भाँडा बनाउने तालिम प्रदान गरिएको नौ बहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापामगरले बताए । उनका अनुसार काठबाट मही पार्ने ठेकी, घ्यू राख्ने हर्पे, कोसी, काठको गिलासलगायतका सामग्री बन्ने छन् । 

स्थानीय स्तरमा पहिले देखि गरिँदै आएको काठबाट भाँडा बनाउने पेसालाई आधुनिक प्रविधियुक्त बनाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले काठका भाडा निर्माणको उद्यमलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

माण्डवी गाउँपालिकाले दुना टपरी जन्य उद्यम अघि सारेको छ । माण्डवी गाउँपालिका–१ कुमलटारमा सालका पातबाट दुना, टपरी, प्लेट बनाउने उद्यममा स्थानीय महिलालाई जोडिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए ।

त्यसै गरी जिल्लाका अन्य पालिकामा पनि सिलाइ, होसियारी, त्रिस्टलका गहना बनाउनेलगायतका उद्यमलाई स्थानीय तहबाट तालिम सञ्चालन भइरहेका छन् । 

प्रतिक्रिया