शुक्रबार, वैशाख ७, २०८१

नेपालमा बढ्दै भारतीय चलचित्रको छायाङ्कन

नेपालखोज २०८० वैशाख १४ गते १०:१७

काठमाडौं । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुने क्रम बढिरहेको छ ।

अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन । 

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् ।  

गत साता मात्र काठमाडौंमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खलाको छायाङ्कन काठमाडौंदेखि पोखरासम्म गरे ।

अभिनेता अर्जुन कपुर अभिनीत ‘इन्डियाज मोस्ट वान्टेड’ को छायाङ्कनसमेत पोखरामा भएको थियो । यी प्रतिनिधि नाम मात्र हुन् । ससाना शृङ्खला, साङ्गीतिक भिडियो उत्तिकै सङ्ख्यामा छायाङ्कन भइरहेका हुन्छन् ।

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए । उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् । 

‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ । ठुलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ’, प्रोडक्सन डिजाइनर रेग्मीले भने ।

विशेषतः विदेशबाट नेपालमा छायाङ्कन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन् । उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन् । 

‘मिराई’ को नेपाल व्यवस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताए । ‘उनीहरुसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ । नेपाललाई मन पराएको भन्ने नै सुन्छु । नेपालीको स्वागत सत्कारले उनीहरुलाई लोभ्याएको पाएको छु’, जोशीले भने ।

समूहमा काम गर्दा बलिउडका ठुला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बताए । उनले भने, ‘दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्थ्यो । कामप्रतिको लगाव तारिफ योग्य छ । हामीलाई सहज होस् भनेर कहिले ठुलो कलाकारको व्यवहार गर्नुभएन ।’

नेपाल सरकारले विदेशबाट छायाङ्कनमा आउने चलचित्रलाई सेवा सुविधा प्रदान गरे सङ्ख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शङ्कर पाण्डेले बताए ।

‘विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ । अहिले नेपाल हाम्रोभन्दा पनि उनीहरूकै कारणले आइरहेका छन्’, प्रोडक्सन डिजाइनर पाण्डेले भने ।

प्रतिक्रिया