आइतबार, जेठ ६, २०८१

आधा आईपीएल सकियो, अंकतालिकामा को कहाँ ? कस्तो हाेला प्ले अफ को समीकरण ?

नेपालखोज २०८० वैशाख १४ गते १४:१२

इन्डियन प्रिमियर लिग (आईपीएल) को सोह्रौँ सिजन अहिले मध्यभागमा पुगेको छ, भने अहिलेसम्मको स्थिति हेर्दा यो प्रतियोगिता निकै रोमाञ्चक मोडमा छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल)- २०२३ मा कुल ७० वटा लिग खेल खेलिनु पर्नेछ जसमध्ये गएको मंगलबार सम्ममा आधा अर्थात ३५ वटा खेल सम्पन्न भैसकेका छन् । यसपटकको आइपिएलको लिग चरणमा सबै टिमले १४–१४ वटा खेल खेल्नुपर्नेछ । जसअनुसार गएको मंगलबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको खेलपछि सबै टिमले ७ –७ खेल खेलिसकेका छन् । शीर्ष ६ वा ७ टिमको कुरा गर्ने हो भने प्लेअफमा पुग्न गाह्रो भएको भनिएको कुनै टिम देखिदैन अर्थात यस पटक हामीले प्लेअफ खेल्ने चार टिमको नामका लागि अन्तिम लिग खेलसम्म कुर्नु पर्ने हुनसक्छ ।

अहिले अंक तालिकाको कुरा गर्दा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा छ । एमएस धोनीको नेतृत्वमा रहेको सिएसके (CSK ) र डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स अहिलेसम्मका उत्कृष्ट टिम देखिएका छन् । दुवैले ७–७ खेल खेल्दै पाँच–पाँच जितका साथ १०–१० अंक जोडेका छन् । यद्यपि, चेन्नईको नेट रन रेट (०.६६२) गुजरातको नेट रन रेट (०.५८०) को तुलनामा राम्रो छ। यही कारणले गर्दा धोनीको टिम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यसैगरि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको स्थिति सबैभन्दा खराब देखिएको छ । यी दुवै टिम अंक तालिकाको पुछारमा छन् । दिल्लीले सुरुका पाँच खेल हारेर लगातार दुई जित हात पारे पनि बलियो मानिने हैदरावादले अपेक्षाअनुरुप खेल प्रदर्शन गर्न सकेको छैन ।

अंक तालिकाको अवस्था

अंक तालिकामा चेन्नई शीर्ष स्थानमा र गुजरात टाइटन्स दोस्रो स्थानमा छ । यो सँगै राजस्थान रोयल्स, लखनऊ सुपर जायन्ट्स, आरसीबी र पञ्जाब किंग्सबीच कडा प्रतिस्पर्धा छन् । यी चार टिमेले ७–७ खेल खेल्दै चार जित दर्ता गरेका छन् भने चारै टिमको ८–८ अंक छ । यद्यपि नेट रनरेटका कारण राजस्थान तेस्रो, लखनउ चौथो, आरसीबी पाँचौं र पञ्जाब छैटौं स्थानमा छन ।

यसैगरि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले चार वटा हार बेहोरेको छ भने ७ मध्ये ३ खेलमा जित निकाल्दै ६ अंकसहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्सको अवस्था दिल्ली र सनराइजर्सको जस्तै छ । कोलकाता ४ अंकसहित आठौं स्थानमा भएपनि आठौं खेलको जित पछि उ सातौं स्थानमा उक्लिएको छ । उता, हैदरावाद ९ औं र दिल्ली उस्तै अंकका साथ अन्तिम अर्थात् १० औं स्थानमा छन ।

प्लेअफको बाटो क-कस्का लागि कठिन ?

जे होस्, यो प्रतियोगितामा अझै आधा खेल बाँकी छ। प्रत्येक टिमले अझै ७–७ खेल खेल्न बाँकी छ । विशेष कुरा के हो भने यस पटक लगातार हार्ने वा लगातार जित्ने कुनै टिम छैनन । यसको अर्थ हो प्रतिस्पर्धा कडा छ र को कमजोर छ भन्न गाह्रो छ । यद्यपि अहिले सम्मको अवस्था अनुसार केकेआर, हैदरावाद र दिल्लीको अवस्था कमजोर देखिन्छ । आईपीएलमा प्रायः ति टिम प्लेअफमा जान्छन्, जसले कम्तिमा आधा खेल जित्छन् अर्थात् यो समय अनुसार कम्तिमा ७ खेल जित्छन् ।तर यी तीन टिमले पहिलो सात खेलमध्ये ५–५ खेलमा हार बेहोरेका छन् अर्थात् प्लेअफमा पुग्न यी तीन टिमले बाँकी सातमध्ये कम्तीमा ५–५ खेल जित्नुपर्नेछ । यी टिमको अवस्था हेर्दा यो केही कठिन छ ।

यदि निश्चित टिमको कुरा गर्ने हो भने चेन्नइ र गुजरातले बाँकी ७ मध्ये ३-३ जीत दर्ता गरेर आफ्नो स्थान सुरक्षित गर्न सक्छन्। यसबाहेक तेस्रो र चौथो स्थानका लागि पाँच टिमबीच कडा प्रतिस्पर्धा हुन सक्छ। मुम्बई इन्डियन्सका लागि पनि अहिले स्थिति कठिन छैन । मुम्बईले पहिलो दुई पराजयपछि लगातार तीन खेल जितेको छ । त्यस्तै राजस्थान रोयल्स, आरसीबी र पञ्जाब किंग्स पनि कम छैनन्।

गुजरात विरुद्ध लखनऊ सुपर जायन्ट्सको पछिल्लो हारले धेरैको आशा चकनाचुर पारेको छ तर यो टिम बलियो छ र पुनरागमन गर्न सक्षम छ । यस्तो अवस्थामा आईपीएल २०२३ को दोस्रो हाफ यस पटकअझ रोचक हुनसक्छ ।

प्रतिक्रिया