आइतबार, जेठ ६, २०८१

फ्राइडे रिलिज : चलचित्र प्रसाद-२ आजदेखि हलमा

नेपालखोज २०८० वैशाख १५ गते ६:२८

काठमाडाैं । प्रसादको भाग दुई निर्माणको समयदेखि नै विभिन्न कठिनाइ झेल्दै चलचित्र प्रसाद -२ आज वैशाख १५ गते शुक्रबार प्रदर्शनमा आउँदैछ । यस पटक ‘प्रसाद २’ मा निर्देशक तथा कलाकारहरु फेरिएका छन् । यसको कथाकार उही हुन भने कथा पनि अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको छ । ‘अनुहार फेरिएका छन् तर पात्र र परिवेश उही हो । हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ’, चलचित्रका कथाकार शुशिल पौडेलले भने । ‘प्रसाद’ को दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेकी छन् । यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन, राजनराज सिवाकोटीले सङ्गीतको जिम्मेवारी सम्हालेका छन् । सुदर्शन बस्नेत निर्माता रहेको यो चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा हुन् ।

‘पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो’, लेखक पौडेलले भने, ‘देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।’

कलात्मक पक्ष सशक्त रहेको यो चलचित्र को कथालाई न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन । हामिले यहि बिषयबस्तु प्रस्तुत गरेका छौँ’, निर्देशक थापाले भने । उनले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताए । ‘यसको कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुती छ’, निर्देशक थापाले भने, ‘मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु ।’

प्रतिक्रिया