आइतबार, जेठ ६, २०८१

पन्जाबलाई हराउँदै लखनउ दोस्रो स्थानमा

नेपालखोज २०८० वैशाख १६ गते ५:१९

काठमाडाैं । इन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ को ३८ औं खेलमा माथिल्लो क्रमको लखनऊ सुपर जायन्ट्सले माथिल्लो क्रममै रहेको अर्को टिम पन्जाब किंग्सलाई ५६ रनले हराएको छ । यो जितसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लखनऊले ८ खेलमा ५ जित र ३ हारसहित १० अंक जोडेको छ भने पन्जाब ८ खेलमा ४ जित तथा ४ हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।

जितका लागी २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा २ सय १ रनमा अल आउट भयो । मोहालीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनऊले ५ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो । २०१३ को आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । आईपिएलमा अन्य कुनैपनि टिमले २ सय ५० रनको योगफल कटाएका छैनन् । लखनऊको जितमा मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए ।

कप्तान लोकेश राहुल ९ बलमा १ चौका र १ छक्कासहित १२ रनमै आउट भए पनि अर्का ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन जोड्दै टिमलाई सानदार सुरुवात दिलाएका थिए । यसै गरि आयुष बदोनीले २४ बलमा ३ चौका तथा ३ छक्कासहित ४३ रन बनाए । भने निकोलस पुरन १९ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । चौथो विकेटका लागि निकोलस पुरन र मार्कस स्टोइनिसले ३० बलमा ७६ रनको साझेदारी गरेका थिए । पन्जाबका लागि कागिसो रबाडाले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए भने अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले एक- एक विकेट लिए ।

विशाल लक्ष्य पछ्याएको पन्जाबका लागि अथर्व टैडेले ३६ बलमा ८ चौका तथा २ छक्कासहित सर्वाधिक ६६ रन बनाए भने ओपनर प्रभसिमरन सिंह ९, शिखर धवन १, लियाम लिभिङस्टोन २३ र साम करन २१ रनमा आउट भए । यसैगरी सिकन्दर राजा २२ बलमा ४ चौका र १ छक्कासहित ३६ र जितेश शर्मा १० बलमा ३ छक्कासहित २४ रनमा आउट भए । लखनऊका लागि यश ठाकुरले ३.५ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने रवि विश्रोईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया