सोमबार, जेठ ७, २०८१

हिमाल आरोहणको इतिहास

सुनील उलक २०८० वैशाख १६ गते ६:३०

नेपालको कतिपय गर्विलो इतिहास या त लेखिँदैनन् या खोजिँदैनन् । नेपालमा प्राज्ञिक भनेर चिनिने इतिहासकार डलरबाट गरिने सेमिनार र रिसर्चमा मात्रै ध्यान दिन्छन र डलर बगाउनेहरुका अनुसार इतिहास लेखिदिन्छन् । होइन भने कपी पेष्टमा नै किताव तैयार बनाउँछन् । केही वर्ष अगाडि दैलेखको दुर्गम गाउँमा जन्मिएर सुर्खेत शहर बसाउनमा दिन रात लाग्ने दलवीर सिंह कामीको कथा बाहिर ल्याएको थिएँ ।

दैलेखको गुराँस गाउँपालिकाले दलवीरका नाममा केही गर्न लागेको समाचारले खुशी लाग्यो । त्यस्तै नेपालका लागि ओलिम्पिक स्वर्णपदक प्राप्त गर्ने तथा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटर उचाइसम्म पुग्ने पहिलो नेपाली तेजवीर बुढाको इतिहास खोतलेको थिएँ । यो लेखले एकपटक सबैलाई झस्कायो । गुमनाम हराएका तेजवीरका सन्ततीको खोजिमा छु । र बेलायतमा तेजवीरको बारेमा केही भेटिन्छ कि भनेर खोज्दैछु । हालै उनको सर्विस नम्वर भेटिएको हुँदा उनको बारेमा बिस्तृत जानकारी पाउने आशामा छु । साथै नेपाल पर्वतारोहण संघले मेरो त्यो लेखलाई अंग्रेजीमा छपाइ पर्वतारोहीहरुको अन्तराष्ट्रिय सञ्जाल बिच पुर्याउने जमर्को गरेकोमा खुशी लागेको छ ।

यि त भए पुराना खोजीका कुरा । अहिले दुइ ब्यक्तिको इतिहास खोतल्दैछु, अन्तराष्ट्रिय रुपमा वहाँहरुको चर्चा गराउन चाहन्छु । राइफलम्यान परवीर थापा तथा हवल्दार हर्कवीर थापा दुइ गुमनाम यस्ता गोर्खाली लाहुरे हुन् । जसले १३२ वर्ष अगाडि नै यूरोपमा गएर हिमाल आरोहणका तालिम लिएका थिए । नेपालमा राणाहरुका बन्देजका कारण सन १८९१ मा राइफलम्यान परवीर थापाले स्विटजरल्याण्डमा गएर हाइ अल्टिच्युटमा हिमाल आरोहणको तालिम लिएका थिए । उनले काराकोरमको बाल्टोरो, हिन्दूकुश, नङ्गापर्वत तथा नन्दादेवीमा समेत तालिम लिएका थिए । आल्प्स हिमाल श्रृंखलामा समेत पुगेका थिए । उनले सगरमाथा आरोहणका लागि चार्ल्स ब्रुसको साथ बिभिन्न तालिमहरु लिइरहेका थिए । सगरमाथा आरोहणकै तैयारी क्रममा विश्वयुद्ध शुरु भयो ।

यहि युद्धमा चार्ल्स ब्रुस घायल भए पनि पछि उपचार गरेर निको भए तर परवीर थापा बि.सं. १९७२ को जेठ ९ मा मारिए । जसले गर्दा सन १९२२ को सगरमाथा आरोहणको अभियानमा चार्ल्स ब्रुसले परवीर थापाको ठाउँमा तेजवीर बुढालाई सगरमाथा आरोहण टोलीमा समेटे । यदि परवीर जीवित भएका भए १०० वर्ष अगाडि सगरमाथाको टुप्पामा परवीर थापा पुग्न सक्दथे । पाल्पामा जन्मिएका परवीर थापाको बारेमा नेपालमा खासै चर्चा गरेको पाइँदैन ।

अर्का हवल्दार हर्कवीर थापा सन १८८९ मा स्कटल्याण्ड पुगेका थिए । पहाडी दौडाइका लागि उनलाई ग्लामेग हिलमा दौड्न लगाइएको थियो । उनले २६०० फुट अग्लो पहाडको टुप्पा पुग्न केवल ३७ मिनेट लगाएका थिए भने ५५ मिनेटमा तल फेदमा फर्कन भ्याएका थिए । उनले राखेको यो रिकर्ड त्यसपछि सय वर्षसम्म कसैले पनि तोड्न सकेनन् । इलाममा जन्मेका हर्कवीर थापाको पनि प्रथम विश्व युद्धकै समय बि.सं. १९७२ असोज ३ गते देहान्त भएको थियो । यि दुई जसले नेपालको हिमाल आरोहणको इतिहासको शुरुवात गरेेका थिए । यिनको बारेमा लामो लेख तैयार गर्दैछु । आशा छ धेरैका लागि नौलो इतिहास हुनेछ ।

प्रतिक्रिया