सोमबार, वैशाख २४, २०८१

चन्दा जुटाएर खेलमैदान निर्माण

नेपालखोज २०८० वैशाख १६ गते ९:४२

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् ।

क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट रु १४ लाख ३० हजार अनुदान प्राप्त भएको जानकारी दिए । खेलमैदान बनाउन समुदायस्तरबाट रु ३४ लाख ७७ हजार सहयोग जुटेको छ ।

‘खेतबारी र घरको आगँनमा खेलको अभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ’, उनले भने, ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटेको छ ।’

खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटललगायत खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभासमारोह आयोजना गर्न सहज भएको स्थानीय नवीन फगामीले बताए ।

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो ।

गाउँका भूतपूर्व सैनिकले रु तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय निर्माण गरेका छन् । गाउँपालिकाले प्यारापिट, घेराबार र स्टेज बनाउन रु १४ लाख ३० हजार सहयोग गरेको छ ।

अनुदान र चन्दाका अलावा एक सय परिवारको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन रु सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए ।

उनका अनुसार यसअघि आव २०७८/७९ मा रु दुई लाख ८० हजार, आव २०७७/७८ मा रु तीन लाख र आव २०७६/७७ मा रु एक लाख सहयोग गरिएको थियो ।

‘गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन’, वडाध्यक्ष पुर्जाले भने ।

प्रतिक्रिया